arrow

कांग्रेस पदाधिकारी बैठक: महाधिवेशनको मिति र मन्त्रीबारे छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १३ बुधबार
nepali-congress-flag-tree.jpg

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा केही बेरअघि शुरु भएको प्रधानमन्त्रीका सहयोगी भानु देउवाले जानकारी दिए ।

बैठकमा पार्टीको क्रियाशिल सदस्यता छानविन समितिले बुझाएको सदस्यतामा देखिएका विवाद समाधानबारे छलफल हुँदैछ । यस्तै पार्टीको १४औं महाधिवेशनका लागि नयाँ संसोधित कार्यतालिका ल्याउने तयारी बैठकको छ । उच्च स्रोतका अनुसार भदौ पहिलो साता वडा अधिवेशन शुरु गर्ने गरी कांग्रेसले अधिवेशनको मिति तोक्न लागेको हो ।

यसैगरी केन्द्रको महाधिवेशनको मितिका विषयमा भने उच्च तहमा छलफल जारी छ । तर भदौ र असोजमा सबै तहका अधिवेशन सकेर कार्तिकमा केन्द्रीय महाधिवेशन गर्ने सभापति देउवाको तयारी रहेको बताइएको छ ।

यसैगरी बैठकमा सम्भवतः बिहीबार विस्तार गर्ने तयारी रहेको मन्त्रिपरिषद् पार्टीका तर्फबाट पठाउने नामावलीका विषयमासमेत छलफल हुने बताइएको छ । यद्यपी नामावलीका विषयमा बैठकमा सामान्य चर्चा भएपनि प्रधानमन्त्री देउवाले नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग छुट्टाछुट्टै छलफल गरेर नाम माग्ने तयारी गरेका छन् ।

यसो गर्दा पौडेल र कोइरालाका तर्फबाट एक एक जना र सिटौलाका तर्फबाट एक जना गरी तीन जनाको नाम प्रधानमन्त्रीले मन्त्रीका लागि माग्ने बताइएको छ । पार्टीको संस्थापन पक्षबाट भने देउवाले एक राज्यमन्त्रीसहित तीन मन्त्री बनाइसकेका छन् । उनले थप दुई मन्त्री आफ्नो कोटाबाट बनाउन चाहेका छन् ।

यसका लागि गठवन्धन आबद्ध दलका बीचमा भागबण्डा मिलाउने प्रयास देउवाले गर्दै आइरहेका छन् । गठवन्धनको एउटा खेमा माधव नेपाल सरकारमा नआएको अवस्थामा कांग्रेसको भाग भने बढ्ने भएपछि देउवाले आफ्नो कोटामा संख्या थप गर्ने तयारी गरेका हुन् ।

विभिन्न गुटबाट नामावली लिएपनि समग्रमा मन्त्रीपरियषद्मा पठाइने अनुहार समावेशी बनाउनै पर्ने दबाबमा देउवा छन । महिला, दलीत, मधेसी, थारु, खसआर्य र जनजाती मध्ये कांग्रेसतर्फबाट खसआर्य र जनजाती अनुहार सरकारमा सहभागी भइसकेका छन् । अब महिला, दलीत, मधेसी र थारु समूदायलाई सरकारमा ल्याउनु पर्ने बाध्यता प्रधानमन्त्री देउवालाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ