सांसद बुढाले उठाए प्रतिनिधिसभामा वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रतामाथि गम्भीर प्रश्न
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
127
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बुढाले पासपोर्ट छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमितता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथिको राजनीतिक हस्तक्षेपलाई लिएर सरकारको आलोचना गरे।
सांसद बुढाले पासपोर्ट छपाइ सम्झौता खारेज गरी पुरानै कम्पनीलाई महँगो दरमा काम दिन दबाब दिइएको समाचारप्रति आपत्ति जनाउँदै यसले ठूलो भ्रष्टाचारको सङ्केत गरेको दाबी गरे। उनले यस प्रकरणमा आफ्नो पार्टीको धारणा स्पष्ट पार्दै भने, "पासपोर्ट छपाइ खरिदमा कुनै पनि अनियमितता भएको छ भने जोसुकै भए पनि, हाम्रै पार्टीका नेता वा मन्त्री किन नहुन्, कारबाहीको दायरामा आउनुपर्छ। निष्पक्ष छानबिनमा हाम्रो पूर्ण साथ रहनेछ।"
यसका साथै, अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमै बन्धकजस्तो बनाएर धम्की दिइएको भन्ने सञ्चारमाध्यमका समाचारप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे। प्रधानमन्त्री आफैँले चितवनको एक सभामा सो कुरा स्वीकार गरिसकेको दाबी गर्दै बुढाले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक निकायका प्रमुखलाई थर्काउने अवस्था सिर्जना गरेपछि अख्तियारले सरकारका कामको निष्पक्ष छानबिन गर्न नसक्ने बताए। सुशासनको नाममा शक्तिको दुरुपयोग र अनियमितता स्वीकार्य नहुने चेतावनी दिँदै उनले सरकारलाई संविधान र कानुनको परिधिभित्र रहेर चल्न सचेत गराए।