- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। बिहीबारदेखि काठमाडौं उपत्यकाका तीनै जिल्लामा खोप अभियान सुरु भएको छ । आज अर्थात १४ गतेदेखि १८ गतेसम्म चल्ने खोप अभियानमा ५० वर्ष उमेर वा सोभन्दा माथि उमेर समुहका नागरिकहरुले भेरोसेल खोपको पहिलो डोज लगाउन पाउनेछन् ।
काठमाडौं जिल्लामा मात्रै ११ स्थानीय तहका ६६ वटा खोप केन्द्रमार्फत खोप लगाइदैछ । यस्तै भक्तपुर र ललितपुरमा पनि सबै स्थानीय तहहरुमा खोप अभियान सञ्चालन भएको छ ।
खाेप लगाउन पाउने समुहमा नेपाल सरकारले अत्यावश्यक सेवा क्षेत्र तोकेका चालक, सहचालक, प्राध्यापक, शिक्षकलगायतले तोकिएको खोप केन्द्रमा गएर खोप लगाउन सक्ने छन् ।
अत्यावश्यक सेवा क्षेत्रका कर्मचारीहरुले राधस्वामी आईसोलेसन सेन्टर बालजु, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, बिर अस्पताल रत्नकपार्क, शिक्षण अस्पताल महाराजगञ्ज र निजामति कर्मचारी अस्पताल बानेश्वरमा गएर खोप लगाउन सक्ने छन् ।
यस्तै खोप अनिवार्य गरिएका देशहरुमा जाने नागरिकले बिरेन्द्र सैनिक अस्पताल, छाउनी र नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा खोप लगाउन पाउँनेछन् ।
खोप लगाउनका लागि नागरिकताको प्रमाण पत्र, आफ्नो कार्यक्षेत्र अथवा अत्यावश्यक सेवा क्षेत्र खुलाउने परिचय पत्र र खोप अत्यावश्यक गरिएको देशमा जानेले भिसा र पासपोट लगेर खोप केन्द्रमा जानु पर्नेछ ।
काठमाडौं उपत्यकासँगै देशभर खोप अभियान जारी रहेको छ । बुधबारको तथ्यांक अनुसार ३५ लाख ४४ हजार ४३ जनाले एक डोज खोप र १५ लाख ३ हजार ३१२ जनाले पूर्ण खोप लगाइसकेका छन् ।
तोकिएको लक्षित समुहलाई तोकिएको आधारमा मात्रै खोप लगाउन निर्देशन दिइएको स्वास्थ्य निर्देशनालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काले बताएका छन् । १८ गतेपछि भेरोसेलको दोस्रो चरणको खोप अभियान अघि बढाउने स्वास्थ्य निर्देशनालयको तयारी रहेको छ ।