- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओली पाँच दिनदेखि चुपचाप बसिरहँदा माधव नेपाल भने आफ्नो समूहभित्र छलफलमा व्यस्त रहेका छन् । खास गरी सरकारमा जाने कि नजाने पार्टी नयाँ बनाउने कि नबनाउने तथा ओलीले पछिल्लो पटक राखेका प्रस्तावलाई कसरी लिने भन्ने बारेमा आफ्नो धारणा बनाउन नेपाल आफ्नै समूहभित्र छलफलमा व्यस्त रहेका छन् ।
नेपाल छलफलमा व्यस्त रहेकै बेला एमाले अध्यक्ष ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबाट भने दबाबमा परेका छन् । देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसदले विचार नै अलग भएका कारण पार्टी अध्यक्ष ओलीसँग सम्बन्ध विच्छेद गर्न र आफैले बनाएको सरकारमा सहभागी हुन नेपाललाई सुझाव दिई रहेका बेला ओली पक्षबाट विवाद निरूपण सम्बन्धी कार्यदलमा रहेका नेताहरूले ओलीसँग संवाद अघि बढाउन आग्रह गरिहरेका छन् ।
पार्टी एकता वा सरकारमा सहभागिताबारे वरिष्ठ नेता नेपालले गर्ने जुनसुकै निर्णय आफूहरूका लागि स्वीकार्य हुने भन्दै सांसदहरूले दबाब दिइरहेका बेला नेपाल पक्षका केन्द्रीय सदस्य डा. विजय पौडेलले आफूहरू तत्काल सरकारमा सहभागी नहुने जानकारी गराइसकेका थिए । तर पनि बिहीबार बिहान प्रचण्ड नेपाल निवास पुगेर सरकारमा सहभागी हुने आग्रह गरेका थिए । त्यति बेला नेपालले एक सातासम्म आफूहरू सरकारमा सहभागी हुन नसक्ने जानकारी गराएका थिए ।
साउन ३मा प्रधानमन्त्री देउवालाई मतदान गर्ने सांसदहरूको बुधवारको भेलामा वरिष्ठ नेता नेपालले सुझावअनुसार चाँडै र उपयुक्त कदम चाल्ने बताएर आश्वस्त पार्न खोजे पनि नेपाल पक्षका केही सांसदहरू आकस्मिक लाभतर्फ लोभ गर्न थालेको निष्कर्ष निकाल्न थालेका छन् । जसले गर्दा नेपाल स्वयं आफ्नै समूहबाट पुरै दबाब खेपिरहेका छन् । ‘सांसदहरूले राजनीतिक रूपमा ओलीका कदम गलत छन् भन्दै सङ्घर्ष गरेको, ओली अहिले पनि आफ्ना कदम जायज छन् भनिरहेको, त्यस कारण विचार नै फरक परेका कारण सरकारमा जानुपर्छ भनेका हौ’, सांसद मेटमणी चौधरीले भने ।
चौधरी, विरोध खतिवडा लगायतका सांसदहरू भने तत्काल सरकारमा जानुपर्छ भन्ने लाइनमा छन् । सरकारमा सहभागी हुने विषयमा एमालेको नेपाल समूहले कानुनी परामर्शसमेत थालेको भए पनि नेपालले पार्टी विभाजन नगरी सरकारमा जान कठिन हुने बताउँदै आएका छन् । संविधानको धारा ७६ (५) अनुसार बनेको सरकारलाई विश्वासको मत दिन स्वतन्त्र हुने सांसद मन्त्री बन्न सक्ने नेपाल समूहका सांसदहरूको तर्क छ । यसरी मन्त्री बन्दा पार्टीले कारबाही गर्न नसक्ने उनीहरूको दाबी भए पनि पार्टी एकीकरण प्रक्रिया धरापमा पर्ने भएकाले तत्काल सरकारमा नजाने नेपालको धारणा छ ।
पार्टी अध्यक्ष ओलीले आफू हदैसम्मको लचकता अपनाएको, बराबरी हैसियतमा अध्यक्ष दिन तयार भएको, २०७५ जेठ २ अन्तर्गतका सबै पार्टी कमिटीहरू व्यूतिएकाले अब पार्टी एकीकरणमा ढिलाइ गर्न नहुने भन्दै चाडै प्रक्रिया थाल्न सुवास नेम्वाङ, विष्णु पौडेललाई आग्रह गरी रहेका छन् । उनीहरूले पनि भीम रावल र सुरेन्द्र पाण्डेलाई फोन गरेर संवादको तयारी गर्न आग्रह गरिसकेका छन् । साथै नेम्वाङ र पौडेलले नेपाललाई भेटिसकेको स्रोतको दाबी छ । ‘नेम्वाङ र पौडेलले आजै माधव नेपाललाई भेटिसक्नु भएको छ’, स्रोतले भन्यो ।
‘दुवै नेताहरूबिच संवाद हुनु जरुरी छ अब केही दिनभित्रै पार्टीको विवाद निरूपण हुनेछ’, भीम रावलले भने । तर नेपाल पक्षका सांसदहरूले अधिकारविहीन दोस्रो अध्यक्ष नबन्न र विना सर्त २ जेठमा फर्किए मात्र एकताका लागि पहल गर्न नेपाललाई सुझाव दिएका थिए ।
पार्टी एकीकरणको अभियानमा रहेका एमाले कार्यदलका नेताहरूले पनि पार्टी मिल्न बाँकी खास मुद्दा नभएकाले केही दिनभित्रै टुङ्गोमा पुग्ने बताएका छन् । देउवा नेतृत्वको सत्ताधारी गठबन्धनले मन्त्रीसहित पर्खिरहेका कारण नेपाललाई भने असजिलो भएको छ ।