arrow

सरकारको न्यूनतम साझा कार्यक्रम तयार : अन्तिम रूप दिइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १७ आइतबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg

काठमाडौँ । नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । 

सरकारलाई सहयोग गर्न भन्दै गठबन्धनको तर्फबाट काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बनाइएको सात सदस्सीय कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको हो । कार्यदलले तयार पारेको मस्यौदालाई शीर्ष नेतृत्वबाट अन्तिम रूप दिने तयारी भइरहेको छ । साझा कार्यक्रमको मस्यौदाको प्रारम्भमा गठबन्धनलाई बलियो बनाउन साझा कार्यक्रमको आवश्यकता महसुस गरिएको उल्लेख छ । 

कार्यदलका सदस्य काँग्रेस नेता रमेश लेखकले सरकारले गर्नु पर्ने न्यूनतम कार्यक्रमहरु साझा कार्यक्रममा आउने बताए । ‘सरकारले न्यूनतम केके काम गर्ने भन्ने कुरा न्यूनतम साझा कार्यक्रममा आउँछ, अघिल्ला सरकारले गरेका कामको पनि समीक्षा हुन्छ,’ कार्यदलका सदस्य लेखकले हाम्रा कुरासँग भने । 

कार्य दलले तयार गरेको सरकारको साझा कार्यक्रममा अहिलेको अवस्थामा जनताको स्वास्थ्य सरोकारसँग प्रत्यक्ष जोडिएको कोरोना सङ्क्रमणको विषयलाई प्राथमिकतामा राखिएको छ । यसै गरी अघिल्ला सरकारले गरेका राजनीतिक नियुक्तिका विषयलाई प्रक्रिया पुर्‍याएर कसरी खारेजीको प्रक्रियामा लैजाने भन्ने विषय पनि उल्लेख छ । 

यस्तै जनता समाजवादी पार्टी, नेपालले उठाउँदै आइरहेको संविधान संशोधनको मुद्दाका विषयलाई पनि सरकारको साझा कार्यक्रममा राखिएको छ । संविधान संशोधनका लागि कार्यदल बनाउने विषय साझा कार्यक्रममा आउँदै छ । 

यसै गरी गठबन्धन आबद्ध दलहरूका बिचमा गरिने काम र सहकार्यका विषयलाई पनि सरकारको साझा कार्यक्रममा राखेर गठबन्धनको शक्तिलाई थप बलियो बनाउने विषय पनि उल्लेख गरिएको छ । 

कार्यदलमा काङ्ग्रेसबाट संयोजकमा महामन्त्री खड्कासहित सदस्यमा डा. मिनेन्द्र रिजाल र रमेश लेखक छन् भने माओवादीबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टीबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ