मन्त्रिपरिषद् विस्तार लगत्तै ठूलो संख्यामा सचिव फेरबदलको तयारी, सबैको नजर गृहमै
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १८ सोमबार
715
Shares
काठमाडौं। मन्त्रिपरिषद् विस्तार लगत्तै ठूलो संख्यामा सचिवहरुको सरुवा गर्ने तयारी सरकारले गरेको छ । सरकारले केही दिन अघि मात्र ३ जना सचिवको सरुवा गरेको थियो ।
मन्त्रिपरिषद् विस्तार लगत्तै धेरैजसो मन्त्रालयमा सचिव सरुवा गर्ने सरकारको तयारी भएको स्रोतले बतायो । स्रोतले भन्यो, मन्त्री आएपछि मन्त्रीले आफूलाई सजिलो हुने गरी सचिव छानुन भनेर मन्त्रिपरिषद् विस्तारसम्म सचिव सरुवा गर्न ढिलो भएको हो ।
तर पनि बहालवाला सचिवहरुको चासो गृहमै छ । यसका लागि एक दर्जन भन्दा बढी बहालवाला सचिवहरुले गृहमन्त्री बालकृष्ण खाणकहाँ कुरा पुर्याइरहेका छन्। स्रोतले भन्यो, गृहमा सरुवा मिलाउन केही सचिवहरुले केही प्रधानमन्त्रीका निकटहरुसँग पनि भेटघाट बाक्लो पारेका छन् ।
वर्तमान गृहसचिव महेश्वर न्यौपानको सरुवा हुने करिब करिब निश्चित भएको स्रोतले बतायो । त्यसो त, उनले आफू गृहमै थमौती हुन खोजिरहेको बुझिएको छ । तर उनको प्रयास काम नलाग्ने भएको छ । सरुवा भएको खण्डमा उनी संचार वा रक्षा मन्त्रालय जाने इच्छा देखाएका छन् । झण्डै २ वर्षदेखि न्यौपाने गृहमा छन् । सामन्यतया सहसचिव तथा सचिवहरुकोलागि २ वर्ष पर्याप्त समय हो ।
गृहससचिवको नियुक्ति पाउन केही दिन घि मात्र वरिष्ठ सहसचिवबाट सचिवमा बढुवा भएका कृष्णहरि पुस्कर, भुमि व्यवस्था सचिव टेकनारायण पाण्डेको नाम पनि चर्चामा छ ।
पुस्कर यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता हुँदा उनले प्रवक्ताको तर्फबाट डा.गोविन्द केसीलाई पागलको संज्ञा दिंदै विज्ञप्ति निकालेका थिए । यो विषयलाई पुस्करका प्रतिष्पर्धीहरुले जोडतोडले प्रचार गरिरहेका छन् । पुस्कर निकट एक कर्मचारी भन्छन ,‘उहाँले आयोगले गरेको निर्णय प्रवक्ताको हैसियतको बाहिर ल्याउनु भएको मात्र हो । यसमा उहाँ जिम्मेवार हुनुहुन्न ।’ सरकारले पुस्करलाई गृहसचिवमा नियुक्ति गरेमा सचिवमा बढुवा भएपछि पहिलो नियुक्ति काठमाडौंमा पाउने सचिव हुनेछन् उनी ।
त्यसो त, विगतमा मधुसूदन अधिकारी, एकनारायण अर्याल, सूर्य गौतम लगायतका सचिवहरुले पनि सचिवमा बढुवा भएपछि पहिलो नियुक्ति काठमाडौंमै पाएका थिए । सामान्यता सहसचिवबाट सचिवमा बढुवा भएपछि पहिलो नियुक्ति काठमाडौं बाहिर गर्ने परम्परा छ । तर कोहीले भने सचिवमा बढुवा भए पनि पहिलो नियुक्ति काठमाडौमै पाउने गरेका छन् ।
भूमि व्यवस्था सचिव पाण्डेलाई गृहमा अनुभव नभएको र विगतमा पद्मा अर्यालको विश्वासिलो भएको आरोप प्रतिष्पर्धीहरुले लगाएका छन् । यसलाई पाण्डे निकट कर्मचारीहरुले अस्विकार गर्छन । मन्त्री जो भए पनि मन्त्रीसँग मिलेर काम गर्नु सचिवको बाध्यता भएको पाण्डे निकट कर्मचारीहरुको भनाइ छ । पाण्डे विगतमा नेपाल विद्यार्थी संघमा सम्बद्ध भएको पाण्डे निकट कर्मचारीहरुको भनाइ छ ।
गृहसचिवको नियुक्ति पाउन श्रमसचिव सूर्य गौतम, पर्यटन सचिव यादव कोइराला, अख्तियार सचिव तोयाम राय तथा सूदर पश्चिम प्रदेशको प्रमुखसचिव मधुसूदन बुर्लाकोटीको नाम पनि चर्चामा छ । गृहसचिवमा नियुक्ति पाउन गौतम, कोइराला तथा बुर्लाकोटीले प्रधानमन्त्री तथा गृहमन्त्रीसँग पहुँच पुर्याउन विभिन्न माध्यमा प्रयोग गरेका छन् । उनीहरुले अहिले आफू लोकतान्त्रिक पृष्ठभूमिको भएको दावी गर्न थालेका छन्–स्रोतले भन्यो ।
वर्तमान वरिष्ठ सहसचिव हरि मैनाली केही दिनमै सचिवमा बढुवा हुने भएका छन् । सचिवमा बढुवा हुने वित्तिकै उनलाई गृहमा ल्याउन एउटा पक्षले तयारी गरेको स्रोतले भन्यो । हरि मैनालीको लोकसेवा अयोगका पूर्व अध्यक्ष उमेश मैनालीबीचमा दाजूभाइ नाता पर्छ ।
राष्ट्रिय योजना आयोगका सचिव केबलप्रसाद भण्डारीको नाम पनि गृह सचिवको रुपमा चर्चामा छ । उनी लोकतान्त्रिक पृष्ठभूमिका हुन् । एमालेले सरकारको नेतृत्व गर्दा उनलाई राम्रो ठाउँमा कहिले पठाइएन । त्यसैगरी प्रदेश २का प्रमुख सचिव गोकर्णमणि दवाडीको नाम पनि चर्चामा छ । पछिल्लो समय दवाडी गृहसचिवको दौडमा त्यती अगाडि बढ्न नसकेको स्रोतले बतायो ।