काठमाडौँ । सरकारले नेपाल प्रहरीमा व्यापक हेरफेर गर्दै एकैपटक आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासन र शान्ति सुरक्षालाई थप चुस्त बनाउन एआईजीहरूको सरुवा गर्ने निर्णय गरेको हो।
बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुरक्षा निकायको सरुवासँगै विभिन्न सार्वजनिक संस्थानहरूमा नयाँ नियुक्ति, कानुनी संशोधन र महत्त्वपूर्ण नीतिगत स्वीकृतिका निर्णयहरू भएको जानकारी दिए।
सरकारले रिक्त रहेका तथा कार्यकाल सकिएका विभिन्न महत्त्वपूर्ण निकायहरूमा नयाँ नेतृत्व चयन गरेको छ। जसअनुसार गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गरिएको छ भने सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी मोरङका देवराज ढुङ्गानालाई सुम्पिने निर्णय भएको छ। यसैगरी, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गरिएको छ।
बैठकले सामाजिक तथा शैक्षिक सुधारका लागि केही महत्त्वपूर्ण नियमावलीहरू समेत परिमार्जन र स्वीकृत गरेको छ। यसअन्तर्गत कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ र शिक्षा दसौँ संशोधन नियमावली, २०८३ लाई मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ। यसका साथै प्रशासनिक क्षेत्रमा सदाचारिता कायम गर्न ‘राष्ट्रिय सदाचार नीति, २०८३’ र सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ समेत स्वीकृत भएका छन्।
कानुनी र अन्तर्राष्ट्रिय सन्धि सम्झौताका सवालमा पनि बैठकले केही दूरगामी निर्णयहरू गरेको छ। अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिइएको छ।
त्यसैगरी राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि अन्तर्गतको सम्झौतालाई अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्ने निर्णय पनि सरकारले गरेको छ।