काठमाडौं । आवाजका जादूगर किशोर कुमारको बुधबार जन्मदिन । सन् १९२९ को ४ अगष्टमा भारतको मध्यप्रदेशस्थित खन्डवामा जन्मिएका किशोर कुमार ज्यूँदै नभए पनि उनको आवाजको चर्चा अझै हुन्छ ।
उनका गीत जताततै चर्चामा हुन्छन् । जुनसुकै उमेर र समूहले उनका गीत मन पराउँछन् । उनले हिन्दी, बंगाली, असमिया, गुजराती, भोजपुरी, कन्नड, मललायम र उर्दू भाषामा गीत गाए ।
उनको वास्तविक नाम आभास कुमार गांगुली थियो । उनले जसरी गायनमा जादू छरे त्यसरी नै उनको अभिनय पनि उत्तिकै सशक्त थियो ।
उनका दाजु अशोर कुमार भने कलाकारिताका माध्यमबाटै पहिचान बनाएका थिए । दाजुसँगै अभिनय गरे पनि जब आफूसँग काम भएन तब उनले सभा समारोहमा गीत गाउन थाले ।
उनको जीवन खासै सुखमय हुन सकेन । उनले चार जनालाई बिहे गरे । उनको अभिनय र गायनकै कारण किशोरीहरु भुतुक्कै हुने गर्दथे ।
उनकी पहिली पत्नी रुमा गुहा थिइन् । उनी पनि गायिका र अभिनेत्री थिइन् । सन् १९५० मा बिहे भएको थियो । उनको सन् २०१९ मा निधन भएको थियो । तर बिहेको ८ वर्षपछि नै उनीहरुबीच सम्बन्ध विच्छेद भएको थियो ।
रुमासँग विच्छेद भएपछि दोस्रो पत्नी अभिनेत्री मधुवाला बनेकी थिइन् । दिलीप कुमारसँग टाढिएपछि मधुवालाले किशोर कुमारसँग बिहे गरेकी थिइन् । सन् १०६० मा बिहे भए पनि त्यसको केही वर्षपछि उनको निधन भयो ।
मधुवालाको निधनपछि किशोर कुमारले तेस्रो बिहे योगिता बालीसँग गरे । तर दुई वर्षमात्र सम्बन्ध टिक्यो । त्यसपछि अभिनेत्री लीना चन्दावरकर चौथी पत्नी बनिन् । उनीहरुबीच उमेरको अन्तर २० वर्षको थियो ।
उनीसँगको बिहेको ७ वर्षपछि १९८७ मा किशोर कुमारको निधन भयो ।