arrow

नेपाल समूहको बैठकमा रावल घेराबन्दीमा, नेपालको प्रतिनिधी भएर ओलीसँग आत्मसर्मपण गरेको आरोप

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन २१ बिहिबार
madhav-kumar-nepal-media-brief.jpg
फाइल तस्बिर

काठमाडौँ। एमालेको माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा पार्टी एकता र विभाजनको विषयमा गरमागर्मी बहस भएको छ। नेपाल पक्षीय अधिकांश नेताहरू एकताकै पक्षमा रहे पनि केही नेताहरूले पार्टी विभाजनको पक्षमा आफ्नो मत जाहेर गरेका थिए। त्यति मात्र होइन भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य, रघु पन्त, घनश्याम भुसाल लगायतका नेताहरूप्रति केन्द्रीय सदस्यहरूले ओलीको कार्यकर्ता हुन खोजेको भन्दै जबरजस्ती एकताको पक्षमा माहौल बनाउन खोजेको आरोप लगाएका थिए।

जगन्नाथ खतिवडा र रामकुमारी झाँक्रीले कार्यदलप्रति प्रश्न उठाउँदै ओलीसँग आत्मसमर्पण गर्न खोजेको आरोप लगाएका थिए। उनीहरूले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरू वार्ता टोलीका नेताहरूप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै सो आरोप लगाएका थिए। माधव नेपालको तर्फबाट वार्ता गर्न गएका नेताहरू केपी ओलीका जस्ता देखिएको र आफ्नो समूहमाथि घात गरेको भन्दै उनीहरू आक्रामक बनेपछि वार्ता टोली संयोजक भीम रावलले जथाभाबी आरोप लगाउने भन्दै बैठकबाट उठेर सँगै प्रतिवाद गरेका थिए।

जगन्नाथ खतिवडा र रामकुमारी झाँक्रीले वार्ता टोलीको भूमिकामाथि प्रश्न उठाएपछि रावलले प्रतिवाद गरेका थिए। खतिवडा र झाँक्री दुवै पार्टी विभाजनको पक्षमा रहेका छन्। कार्यदलका तर्फबाट भीम रावलले जवाफ दिने क्रममा उनीहरूले आपत्ति जनाएका थिए। त्यसपछि घनश्याम भुसाल उठेर सहजीकरण गरेका थिए।  

केही बेर केन्द्रीय सदस्य र रावलबीच भनाभन परेको थियो। रावलले केपी ओलीको आलोचना गर्दा फ्लोरबाट झाँक्री लगायतले ओलीसँग आत्मसमर्पण गर्न खोजेको आरोप लगाएका हुन्। बैठकमा ‘कार्यदलमा रहेका नेताहरूले अध्यक्ष ओली कहाँ पुगेर ओलीलाई खुसी पार्ने कुरा गरिरहनु भएको छ। त्यो काम बन्द हुनुपर्‍यो। हाम्रै समूह एकताबद्ध छैनौँ भने पार्टी एकता कसरी हुन सक्छ ? यस्ता व्यवहार बन्द हुनुपर्छ ? माधव नेपालको तर्फबाट वार्तामा जानेहरूले ओलीको बोली बोल्ने होइन’, जगन्नाथ खतिवडाले भनेका थिए।

बैठकमा नेता नेपालले सुरुवाती सम्बोधन गरेपछि कार्यदलमा नेपाल पक्षका संयोजक भीम रावलले १० बुँदे सहमतिको बारेमा विस्तृत जानकारी केन्द्रीय सदस्यहरूलाई गराएका थिए।

रावलले कार्यदलले गरेका उपलब्धि सुनाउँदै गर्दा ‘फ्लोर’बाट उनीमाथि नै प्रश्न उठेको थियो। आफ्नो आलोचना भएपछि रावल पनि आफ्नो स्वभाव अनुसार त्यसको प्रतिवादमा उत्रिदा बैठकमा वादप्रतिवाद परेको थियो। सदस्यले विजय गुरुङ, विजय पौडेल, रामकुमारी झाँक्री, राजेन्द्र पाण्डे, जगन्नाथ खतिवडा र चुँडामणी जंगलीले माधव नेपालको प्रतिनिधि बनेर माधव नेपाललाई नै असहयोग गरेको भन्दै रावलमाथि आक्रोश पोखेको दाबी गरेका थिए।

ओलीले एमालेमा आफूहरूलाई स्पेस दिँदैनन् कि भन्नेमा नेपालले आशङ्का व्यक्त गरेका थिए। ‘एकातिर केपी ओलीले हामीलाई एमालेमा स्पेस नदिने, अर्कातिर हामीले लडेर जोगाएका संसद्को पूर्ण अवधि कायम गर्ने चेपुवामा हामी छौँ भन्ने कुरा उहाँले राख्नु भयो।’ नेपालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले भने। अर्का केन्द्रीय मेटमिण चौधरीका अनुसार नेता नेपालले ओली पार्टी एकतामा गम्भीर नभएको आरोप लगाएका थिए। ‘जब पार्टी एकताका विषयमा छलफल हुन थाल्छ अनेक कुरा गरेर स्टेप चाल्छन् या केही बोलेर भाँड्छन्,’ नेपालको भनाइ उद्धृत गर्दै चौधरीले भने।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफू जतिसुकै अपमान सहने तर आफ्नो समूहमा रहेका नेताहरूको सम्मानमा कुनै पनि ठेस लाग्न नदिने बताउँदै आफू पार्टी एकताकै पक्षमा रहेको बताएका थिए। ‘उताका नेताहरूले मनपरी व्यवहार गरे पनि हामी कसैले पनि कसैलाई लाञ्छना लगाएर बोल्ने नकारात्मक टिप्पणी नगर्नुस्’ नेता नेपालको भनाइ उद्धृत गर्दै सुरेन्द्र मानन्धरले भने ‘पार्टीलाई एकताबद्ध बनाएर लैजाने सन्दर्भमा अझै हामी मेहनत गर्छौँ। 

जतिसुकै अपमान, घृणा सहेर पनि गर्न तयार छौँ। तर, आजका लागि एकताको बाधक भनेको ओलीको बोली, व्यवहार नै हो। बिहीबारको बैठकमा डा. विजय पौडेल, दिनेश राई, प्रतापलाल श्रेष्ठ, झपट रावल, रवीन्द्र अधिकारी, रामकुमारी झाँक्री, निरा जैरु, ठाकुर गैरे, भागवत विश्वासी, सुरेन्द्र मानन्धर, भानुभक्त जोशी, अरुण नेपाललगायतका केन्द्रीय सदस्यले आफ्ना सुझाव दिएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए। बैठकमा प्रेम आलेसहित ७३ जना सहभागी भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ