arrow
ADVERTISEMENT

बाढीपछि हेलम्बु टाढियो, स्थानीय भन्छन्- पुल मात्रै बनाइहाले हिँड्न त सजिलो हुन्थ्यो

logo
सञ्चिता घिमिरे र देवराज सुवेदी,
प्रकाशित २०७८ साउन २२ शुक्रबार
melamchi-pahiro.jpg

काठमाडौँ । कामको सिलसिलामा काठमाडौँ निस्केका हेलम्बु-१ नाकोतेका मिङ्मार गाल्मो शेर्पा बुधबार झण्डै नौ घण्टा हिँडेर मेलम्ची बजार पुगे । 

गत जेठसम्म झण्डै दुई तीन घण्टामा गाडीबाट पुग्नेमा अहिले दिनभर जोखिमपूर्णरुपमा हिँडेर उनी मेलम्ची आइपुगेका हुन् । सडक नै भासिएको र पुल नै बगाएकाले बजार आइपुग्न धेरै लामो बाटो हिँड्नुपरेको उनले बताए । उनले भने, “पुल मात्रै बनाइहाले पनि कम्तीमा हिँड्न त सजिलो हुन्थ्यो ।” 

गत असार १ गते मेलम्ची नदीमा आएको बाढीका कारण सिङ्गो हेलम्बु गाउँपालिका सडक सम्पर्कविहीन बनेको छ । सोझै जाने सडक भत्किएपछि स्थानीयवासी अहिले पाल्चोक र दुवाचौर घुमेर मात्रै मेलम्ची निस्कन सक्छन् । हेलम्बु- २ किउलकी साइली तामाङ सडक नहुँदा खाद्यान्न कसरी ल्याउने भन्ने समस्या भएको जानकारी दिइन् । गाउँमा केही अप्ठ्यारो परिहालेमा कसरी शहरसम्म पुग्ने भन्ने उनलाई चिन्ता छ । उनले भनिन्, “बिरामी परियो भने हेलिकप्टरको विकल्प छैन, भन्नासाथ त्यो नि के पाइएला र ?”  

असार १ गते आएको बाढीकै कारण पुलबजार-हेलम्बु सडक पूर्णरुपमा क्षतिग्रस्त बनेको थियो । स्थानीयवासीमा मर्मत गरेर सडक बन्छ कि भन्ने कताकता आशा थियो । यही साउन १६ गते  आएको बाढीले थप क्षति गरायो । बजारसँग जोड्ने रातो पुल नै बगाएपछि अहिले भने स्थानीयवासी त्यसको विकल्प खोज्नुपर्ने बताउँछन् । हेलम्बु-२ का सन्त रिमालले सडक पूरै भासिएको र पुल बगाएकाले त्यो सडकका विकल्प खोजेर पनि हेलम्बुलाई सडक यातायातसँग जोड्नुपर्ने बताए । उनले भने, “अहिले त हामी बिरामी भइहालेमा अस्पताल नै कसरी जाने भन्ने समस्या छ ।”

बाढीका कारण हेलम्बुमा सडक यातायात पूर्णरुपमा टुटेकाले वैकल्पिक सडक सञ्चालनमा ल्याएर पनि पालिकालाई सडक सञ्जालमा जोड्न सकिने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । उनका अनुसार काठमाडौँबाट हेलम्बु जानका निम्ति तत्काल दुई वटा वैकल्पिक मार्ग रहेका छ । काठमाडौँबाट साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने एउटा रुट तयार रहेको छ । 

काठमाडौँबाट सुन्दरीजल, चिसापानी, कुटुमसाँङ, पाटीभञ्ज्याङ, चित्रे, ग्यालथुम शेरा हुँदै थापाटार जोड्ने सडकलाई वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने छ । यो बाटो सञ्चालन भएमा स्थानीयवासीलाई बिरामी भइहालेमा उपचारका साथै दैनिक उपभोग्य वस्तुको आयातमा समेत सहजता आउने उनले बताए । 

उक्त सडक सञ्चालन हुँदा पनि हेलम्बुका किउल, पाल्चोक, शेर्माथान, तिम्बु, चुरेटारलगायतका बस्ती र गाउँपालिका कार्यालयसमेत सडक सम्पर्कबाट बञ्चित नै हुनेछन् । उनले भने, “केही ठाउँलाई मात्रै सजिलो हुने भए पनि सडक खुलाउन ढिला गर्नुहुँदैन ।”

स्थानीयवासी सडक र पुल नहुँदा धेरै समस्या पर्न थालेको बताउँछन् । हेलम्बु-६ की चण्डीका गुरागाईंले चाँडोभन्दा चाँडो सडक बनाएर आवतजावत खुलाउनुपर्ने बताए । पुल नै बगाएको ठाउँमा हिँड्नैका लागि समस्या भएकाले हेलम्बुवासी धैरै दुर्गम क्षेत्र बनेको उनको भनाइ छ । 

मेलम्ची खानेपानी विकास समितिले निर्माण गरेको सो सडक मर्मतमा पनि समितिको भूमिका रहेको छ । सडक नहुँदा स्थानीयवासीको दैनिकी कठिन भएको छ भने आयोजनाको मर्मतका लागि पनि पहिले सडक नै बन्नुपर्छ । समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्त बाढीका कारण साढे सात किमी सडक पूर्णरुपमा क्षतिग्रस्त भएको बताए । 

सडक र पुल बगाएकाले तत्काल मर्मत गर्न सकिने अवस्था नभएको उनको भनाइ छ । निर्माण हुँदाको समयमा रु अर्ब लगानी रहेको सो सडकमा मर्मतका लागि पनि त्यति नै रकम लाग्ने अनुमान गरिएको छ । समितिले मर्मत कसरी अघि बढाउन सकिन्छ भनेर सडक विभाग, प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय र पालिकासँग समन्वय गरिरहेको छ । उनले भने, “सडक पालिकालाई चाहिएको र समितिलाई आयोजनास्थलसम्म पुग्न चाहिएको छ ।”

तत्काल सडक खुलाउने अवस्था नभएकाले वैकल्पिक सडकमार्फत भए पनि हेलम्बुलाई सडक सञ्जालसँग जोड्ने गरी छलफल भइरहेको उनले बताए । उनका अनुसार समितिले असार महिनामा नै मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई विपत् व्यवस्थापन कोषमा रकम सहयोग गरेको थियो । समितिले दुवै पालिकालाई सडक निर्माणमा नै रकम खर्च गर्न भनेको उनले बताए । उनले भने, “कसले कसले कसरी काम गर्ने भनी छलफल भइरहेको छ ।”

दीर्घकालीन रुपमा त्यही रेखाङ्कनबाट सडक पुनःस्थापना गर्नुपर्ने भए पनि शुरुआतबाट नै काम गर्नुपर्ने देखिएको छ । त्यसको विस्तृत अध्ययन गरेर र भविष्यमा पनि प्रकृतिक प्रकोप आउन सक्ने अनुमान गरेर सडक र पुल निर्माण गर्नुपर्ने प्रवक्ता पन्तले बताए । उनले भने, “पहिलेभन्दा अग्लो सडक र पुल चाहिने देखिएको छ ।” 

संविधानअनुसार सङ्घीय, प्रदेश र स्थानीय सडक छुट्याउँदा मेलम्ची बजारसम्मको हेलम्बु राजमार्ग मात्रै सङ्घीय सरकारको क्षेत्रमा पर्छ । मेलम्ची-हेलम्बु सडक निर्माण गरेका हिसाबले समिति र पूरै पालिकालाई असर गरेकाले हेलम्बु गाउँपालिका जोडिएको छ । दीर्घकालीनरुपमा सडक खुलाउनेभन्दा तत्काल वैकल्पिक सडक चालू गराउन पालिका, समिति र विभाग मिलेर काम गर्ने सडक विभाग, सम्भार महाशाखाका इञ्जिनीयर केशव ओझाले बताए । 

उनका अनुसार सुन्दरीजलबाट मेलम्चीसम्मको सडकको ट्रयाक खुले पनि वर्षाका कारण कतिपय स्थानमा अवरुद्ध भएको र कतिपय मोड साँघुरो रहेका छन् । ती स्थानमा मर्मत र सुधार गरी सडक चालू गर्न सकिने उहााको भनाइ छ । उनले भने, “समितिले यहाँबाट र यसरी सडक खुलाउन सकिन्छ भनेपछि त्यसैका आधारमा रकम माग गरेर काम गर्न सकिन्छ ।”

मेलम्ची बजार-हेलम्बु खण्डमा पर्ने विभिन्न पुल बगाएकाले बेलिब्रिज राख्न माग भइरहेको प्रवक्ता पन्तले बताए । पहिले चार पुलको आवश्यकता भएकामा चनौटेको पुल बगाएसँगै पाँच बेलिब्रिजको आवश्यकता रहेको पालिकाले माग गरेका छन् । बेलिब्रिजको लम्बाइभन्दा खोलाको चौडाइ बढी हुने हुँदा जुनसुकै खोलामा बेलिब्रिज सजिलै राख्न नसकिने इञ्जिनीयर ओझाले बताए । उनका अनुसार विभागसँग अहिले भएका बेलिब्रिजको लम्बाइ ३० मिटर रहेको छ । खोलालाई केही साँघुरो बनाएर बेलिब्रिज राख्न सकिने उनले बताए । 

उनले भने, “हामीसँग भएकोभन्दा बढी लम्बाइको बेलिब्रिज सेनासँग छ भने त्यसलाई पनि प्रयोग गर्न सकिनेछ ।” साउन १६ गतेको बाढीले चनौटेस्थित रातो पुल बगाएपछि मेलम्ची र हेलम्बु गाउँपालिका पूर्णरुपमा सम्पर्कविहीन भएका छन् । यो पुलले मेलम्ची नगरपालिकाको वडा, हेलम्बु गाउँपालिकाको वडा र पाँचपोखरी थानपाल गाउँपालिकाको वडा जोड्थ्यो । बाढीले ग्यालथुममा रहेको झोलुङ्गे पुल बगाएको छ । 

आयोजनाको पूर्वाधार विकाससम्बन्धी कार्यक्रमअन्तर्गत २७ किमी पहुँच सडक निर्माण भएको थियो । गोकर्ण-सुन्दरीजल पाँच किमी र लामिडाँडा-मेलम्ची २२ किमी गरी २७ किमी सडक एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भएको हो । आयोजनाको दोस्रो चरणको निर्माणका लागि आयोजनाले याङ्ग्री र लार्केसम्म पहुँच मार्ग निर्माण अघि बढाइरहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ