arrow

तुरुन्तै मिल्ने भयो एस्ट्राजेनेकाको दोस्रो डोज, शुक्रवारदेखि नै विभिन्न जिल्लामा खोप पठाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
corona-vaccine-covid.jpg

काठमाडौँ । कोरोना भाइरसविरुद्ध एस्ट्राजेनेकाले उत्पादन गरेको खोप शुक्रवार देखि नै विभिन्न जिल्लाहरूमा पठाउन सुरु गरिएको छ । शुक्रवार भुटान सरकारले नेपाललाई दिएको करिब ३ लाख डोज खोप काठमाडौँ आइपुगिसकेको छ ।

यो खोप आज (शुक्रवार)देखि नै विभिन्न जिल्लामा पठाउन थालिएको स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

यस्तै जापान सरकारले अनुदान स्वरूप दिने १६ लाख एस्ट्राजेनेका खोपमध्ये भोलि(शनिवार) पहिलो लट खोप काठमाडौँ आइपुग्दै छ । थप खोप पर्सी अर्थात् आइतबार काठमाडौँ आइपुग्ने छ ।

भोलि आइपुग्ने खोप भोलि र पर्सी आइपुग्ने खोप पर्सी नै जिल्ला जिल्लामा पठाइने डा. गौतमले बताएका छन् । यसअघि एस्ट्राजेनेकाकै भारतमा उत्पादित खोपको पहिलो डोज लगाएकाहरूलाई यो खोप दोस्रो डोज लगाइने भएको छ ।

भारतबाट ल्याइएको एस्ट्राजेनेकाको पहिलो डोज लगाएका झन्डै १४ लाख भन्दा बढी नागरिकले दोस्रो डोज लगाउन ढिला भइसकेको अवस्थामा जापानबाट आइरहेको एस्ट्राजेनेका खोपको दोस्रो डोज लगाउन थालिने उनले बताए ।

सुरुमा एक डोज लगाएकाहरूले दोस्रो डोज लगाउन पाउनेछन् । त्यसपछि केही खोप बाँकी रह्यो भने त्यसलाई पनि प्राथमिकताका आधारमा लगाइने खोप महाशाखाका प्रमुख डा. गौतमले बताए ।

कसरी ताेकिन्छ खाेप केन्द्र ?

हाल देशभर भेरोसेल र जे एन्ड जेको खोप सञ्चालनमा आइरहेको छ । यस्तो अवस्थामा एस्ट्राजेनेका खोप कसरी लगाइउने भन्ने व्यवस्थापनको पाटो पनि चासोको विषय बनेको छ ।

यस विषयमा डा. गौतमले भेरोसेलको खोप अभियान रोकेर एस्ट्राजेनेका लगाइने बताएका छन् । 'कसरी र खोप केन्द्र कहाँ-कहाँ तोक्ने भन्ने निर्णय जिल्लाले नै गर्छ, दुवै खोप नबाझिने किसिमले लगाउन हामीले निर्देशन दिन्छौँ', उनले भने ।

डा. गौतमका अनुसार एस्ट्राजेनेकाको दोस्रो डोज लगाउनका लागि खोप केन्द्र जिल्लाले नै तोक्ने छ । यद्यपि, भेरोसेल खोप र एस्ट्राजेनेका एउटै दिन लगाउने गरी मिति भने तोकिने छैन ।

एकै पटक दुवै खोप (भेरोसेल र एस्ट्राजेनेका) अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मीको अभाव एवं व्यवस्थापनमा समस्या हुने उनको भनाइ छ । यद्यपि, दुवै खोप अभियान सँगसँगै गर्न सकेको अवस्थामा खोप अभियानले गति लिने देखिन्छ ।



नयाँ