- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। एमालेका नेता माधवकुमार नेपाल आफू निकट स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यसँग नरम देखिए पनि कार्यकर्तासँग भने कडा बनेका छन्। बिहीवार र शुक्रवार दुई दिनसम्म चलेको आफू निकट केन्द्रीय कमिटी बैठकमा नेपालले आफू पार्टी एकताका लागि हदैसम्म लचकता अपनाउने बताए थिए।
ओलीले जति गाली गरे पनि आफू पार्टी एकताकै पक्ष रहेको र एकता विरोधी अभिव्यक्ति नदिनु भन्दै नेताहरू पनि निर्देशन दिएका थिए। तर शनिवार भएको दुई वटा कार्यकर्ता भेलामा ओलीप्रति निकै आक्रोशित भए। दिउसो ललितपुरमा भएको कार्यकर्ता भेलामा खास कडा अभिव्यक्ति नदिएका नेपालले दोलखा सम्पर्क मञ्चको भर्चुअल भेलामा कार्यकर्तासँग भने कडा रूपमै प्रस्तुत भए।
उनले अध्यक्ष केपी शर्मा ओली सुध्रिनेमा आफूलाई विश्वास नलागेको बताउँदै पार्टी एकताका लागि अन्तिम मौका दिएको पनि बताएका थिए। दोलखाका कार्यकर्ताहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने क्रममा ओलीलाई सुध्रने अन्तिम मौका दिएको बताएका थिए। ‘मलाई कुनै भ्रम नै छैन, द्विविधा छैन। केपी ओली सुध्रिएलान् भन्ने मलाई फटक्कै पत्यार छैन, आजको डायरीमा नोट गरेर राख्नुस्’, भनेका थिए।
सम्मानजनक एकता नभए ओलीले फेरी पनि पेल्ने सङ्केत गर्दै त्यहाँ गएर चिच्याउन मिल्दैन टाउको ठोक्काउन मिल्दैन समेत भन्न भ्याएका थिए। ‘यदि केपी ओली सुध्रिएनन् भने, उनले कुनै पनि कुरालाई मानेनन् भने गर्ने के त ? त्यहाँ गएर फस्ने ? त्यहाँ गएर रुने ? चिच्याउने ? कराउने ? टाउकोमा हात राखेर बस्ने ? त्यो मन्जुर छैन। हामी सम्मानजनक एकताको कुरा गरिरहेका छौँ,’ उनले भने।
बिहीवार र शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकबाट ओलीलाई अन्तिम मौका दिएको पनि नेपालले बताएका थिए। उनले आफू निकट रहेका नेता कार्यकर्तालाई देशभर चुप लागेर नबस्न भन्दै समानान्तर कमिटी बनाउन निर्देशन दिएका थिए। ‘अहिले हामीले अन्तिम मौका दिएका छौँ केपी ओलीलाई। अन्तिम मौका के दिएका छौँ भने उहाँ २४ गतेको कथित बैठक रोक्नुहुन्छ कि रोक्नुहुन्न ? दोस्रो, उहाँले पार्टी सदस्यता वितरण गर्ने कामलाई रोक्नुहुन्छ कि रोक्नुहुन्न ? उहाँले अस्तिको बैठकबाट निर्णय गरेर धमाधम वडा तहसम्म अधिवेशन गर्ने काम रोक्नुहुन्छ कि रोक्नुहुन्न ?,गाली–गलौचको उहाँको गोला–बारुद बन्द हुन्छ कि हुन्न ? यसबाट उहाँ के चाहनुहुन्छ भन्ने प्रस्ट हुन्छ ,’ नेपालले भनेका थिए।
नेपाल पक्षका अधिकांश केन्द्रीय सदस्य तथा स्थायी कमिटी सदस्यहरूले पार्टीलाई विभाजन गर्नुहुन्न भन्ने सुझाव दिएकै भोलिपल्ट नेपालले यस्तो अभिव्यक्ति दिएका हुन्। नेपाल पक्षका नेताहरूले एमालेभित्र विवाद हिजो पनि थियो भन्दै अहिलेको विवाद अलि बढी चर्केको र यसले समाधानको बाटो पहिल्याउन खोज्दा ओली तयार नभएकाले मात्रै कठिन भएको भन्दै नेपाललाई पार्टी विभाजन गर्न नहुने सुझाव दिएका थिए। त्यसपछि वरिष्ठ नेता नेपालले ओलीले ढोका बन्द गरे मात्रै विकल्प खोज्ने अहिलेलाई अन्तिम अवस्थासम्म पार्टी एकताकै पक्षमा रहने बताएका थिए।
वरिष्ठ नेता नेपालको अभिव्यक्तिपछि भने ओली पक्षले राखेको केन्द्रीय कमिटीको बैठक सारेका छन्। एमालेको बैठक २५ गते दिउँसो ३ बजेसम्मलाई सारिएको हो। पार्टीको विधान मस्यौदा समितिले विधान संशोधनसम्बन्धी काम नसकेकाले बैठक सारिएको बताइएको छ। सोमबार ११ बजे स्थायी कमिटी बैठकमा विधानबारे छलफल गर्ने कार्य तालिका छ। त्यसपछि दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठकमा उक्त विधान मस्यौदा प्रस्तुत गर्ने एमालेको तयारी छ।