arrow

'भारतबाट कोभिशिल्ड चाँडै प्राप्त हुँदै'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २८ बिहिबार
Covid-vaccine-corona.jpg

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भारतबाट खरिद गरी भुक्तानी गरिएको कोभिडविरुद्ध कोभिशिल्ड चाँडै प्राप्त हुने बताएका छन् । अघिल्लो सरकारले उक्त खोपका लागि रकम दिइसकेको थियो । 

उनले खोपलाई दुरुपयोग गर्ने वा तोकिएका व्यक्तिलाई नदिएर भण्डारण गर्नेलाई कारबाही गर्न आफूले गृहमन्त्रीलाई आग्रह गरेको पनि जानकारी गराए । उनले शिक्षा र स्वास्थ्य राज्यको दायित्व भएकाले यसमा सरकारले लगानी वृद्धि र पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । 

राज्यमन्त्री श्रेष्ठले सरकारले खोप आयात बढाएको र तराईका बढी जनघनत्व भएका जिल्ला र विद्यार्थीहरूमा कोभिड खोप कार्यक्रम प्राथमिकता दिई अघि बढाउने बताएका छन्।

उनले ५ करोड ५० लाख खोप आवश्यक पर्ने भन्दै उनले असोज मसान्तसम्म १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको बताए । पूर्ववर्ती सरकारले ४२ लाख खोप उपलब्ध गराएको तर बुधवारसम्म ७५ लाख डोज खोप लगाइएको उनले जानकारी दिए। खरिद गरेको र अनुदानमा प्राप्त खोप धमाधम आइरहेको पनि उनले जानकारी दिए ।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्त्वका विषयमा आफ्नो वक्तव्यमाथि सांसदहरूका प्रश्नका जवाफ दिने क्रममा उनले अबका दिनमा स्वयंसेवक परिचालन गरी गाउँ र नगर स्तरीय खोप केन्द्र सञ्चालन गरिने बताए । 

कक्षा १२ को परीक्षा सञ्चालन गर्दा महामारी फैलन सक्ने भएकाले परीक्षा स्थगन गरिएको बताए । उनले अनलाइनबाट खुला परीक्षाजस्ता विकल्पमा उक्त परीक्षा सञ्चालन गर्न सकिने बताए  । उनले धेरै अस्पतालमा अक्सिजन प्लान्ट राख्ने नीति लिएको र सोका लागि निजी अस्पतालले चाहेमा ५० प्रतिशत रकम अनुदान दिने जानकारी दिए । 

उनले कोरोना रोकथामका लागि सर्वपक्षीय र उच्चस्तरीय समिति गठनका विषयमा गम्भीर रूपमा सोचिएको बताए । उनले कोभिडको तेस्रो लहरको खतरालाई ध्यान दिएर बालबालिका केन्द्रित अस्पताल र उपचार पद्धतिको उचित व्यवस्थापन गर्ने बताए ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपीनाथ मैनालीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘स्टाण्डर्स नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६’ सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गरे ।



नयाँ