arrow

काठमाडौं विश्वविद्यालयमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजन्सको पढाइ हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २९ शुक्रबार
artificial-intelligence1.jpg
सांकेतिक तस्विर ।

धुलिखेल। काठमाडौं विश्वविद्यालयमा पहिलो पटक स्नातक र स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स विषयको अध्ययन हुने भएको छ । 

विश्वविद्यालयको स्कुल अफ इञ्जिनीयरिङअन्तर्गत कम्प्युटर साइन्स एण्ड इञ्जिनीयरिङ विभागले आगामी सेप्टेम्बर २०२१ बाट दुईवटा नयाँ शैक्षिक कार्यक्रम आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक-एमटेक) विषयमा स्नातक र स्नातकोत्तर कार्यक्रम सुरु गर्ने भएको हो ।

विश्वविद्यालयले स्थानीय तथा विश्वव्यापी रूपमा सो क्षेत्रसँग सम्बन्धित विशेषज्ञ उत्पादन गर्ने उद्देश्यले ती विषयको कक्षा सञ्चालन गर्न लागेको स्कुल अफ इञ्जिनीयरिङअन्तर्गत कम्प्युटर साइन्स एण्ड इञ्जिनीयरिङ विभागका डिन प्रा डा मनिष पोखरेलले बताए । “नेपालमा नै पहिलो पटक काठमाडौं विश्वविद्यालयमा यो शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेका हौं”, उनले भने, “हाल भर्ना सिटको कूल सङ्ख्या स्नातक तहमा ३० र स्नातकोत्तर तहमा १० छ, पढाइ आवासीय सुविधासहितको हुनेछ ।” इन्टर्नसीपको माध्यमबाट विद्यार्थीलाई परियोजनामा आधारित सिकाइमा व्यावहारिक ज्ञानको अनुभव प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले सञ्चालन गर्न लागेको आर्टिफिसियल इन्टेलिजेन्स विषयमा प्रविधि र विधिको प्रयोग गरी कार्यक्रमसँग सम्बन्धित कम्पनी तथा संस्थामा डाटामा आधारित निर्णय कार्यान्वयन गर्न सक्ने र कोर्षसँग सम्बन्धित विद्यार्थीले विभिन्न डाटा विश्लेषण गर्न सक्नुका साथै स्वचालित मेशिन प्रविधि निर्माण गर्न सक्ने दक्ष जनशक्ति उत्पादन हुने प्रा डा पोखरेलले बताए ।

जुन कार्यक्रम प्राविधिक, आधारभूत प्रोग्रामिङ, कम्प्युटर विज्ञान, गणितको परिचयात्मक पाठ्यक्रमबाट सुरु हुनेछ । सो विषय अध्ययन गरेका विद्यार्थीले आर्टिफिसियल इन्टेलिजेन्स अवधारणाको प्रविधियुक्त ज्ञान सिक्न सक्ने प्रा डा पोखरेलले बताए ।

दुवै तहमा अध्ययनको लागि चार वर्षे शैक्षिक कार्यक्रमको लागि विद्यार्थीले कूल शुल्क रु आठ लाख तिर्नुपर्ने छ । त्यस्तै मास्टर्स अफ टेक्नोलोजि इन आर्टिफिसियल इन्टेलिजेन्स अध्ययन गर्ने विद्यार्थीहरूले विभिन्न क्षेत्रहरु जस्तै व्यापार, आर्थिक, सुरक्षा, उद्योग नियन्त्रण र इञ्जिनियरिङ्गसँग सम्बन्धित व्यवहारिक जीवनका समस्याहरूसँग जुध्न का लागि आफूले सिकेको कुराको प्रयोगात्मक परीक्षण गर्ने अवसरहरू पाउनेछन् । त्यसको लागि दुई वर्षे शैक्षिक कार्यक्रममा थप शुल्क रु तीन लाख ९५ हजार निर्धारण गरेको विश्वविद्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ