- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । कोभ्याक्स मार्फत नेपालले मोडर्ना खोपको ४० लाख मात्रा पाउने भएको छ । कोभ्याक्ससँगको लागत साझेदारी मार्फत विश्व बैङ्कको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि जीएभिआइसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ । यस सम्झौतासँगै नेपालको कोभिड-१९ विरुद्धको खोपको पुँजीको विविधीकरण र सुदृढीकरण भएको छ ।
'कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल सुरुवाती देशहरू मध्येको एक हो र चुनौतीपूर्ण परिस्थितिहरूका बाबजुद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउनका लागि यस सम्झौता तय गर्न सफल भएकोमा म अत्यन्तै हर्षित छु' स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भने ।
'मोडेर्ना खोपले १२ बर्ष उमेर माथिका नेपालीलाई आवश्यक खोपको विकल्पहरु विस्तार गर्न मद्दत गर्नुका साथै कोभिड पछिको सुरक्षित विश्वका लागि नेपालको प्रगतिलाई द्रुत गति दिन समेत सघाउने भएको छ ।'
यी खोपहरू नेपालमा सन् २०२२को मार्च महिनासम्म आई पुग्ने अपेक्षा गरिएको छ र यसले नेपालका ७२ प्रतिशत जनसङ्ख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोर किशोरी लाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउने छ ।
'कोभ्याक्स सुविधा मार्फत कोभिड विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरू खरिद गर्नका लागि लगानी गरी विकासका साझेदारसँगै नेपाली जनता र नेपाल सरकारलाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ,' मालदिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने ।
'यस सहयोग हाम्रो समग्र कोभिड प्रतिकार्यको एक मुख्य अंश हो जसले नेपालको आपतकालिन स्वास्थ्य क्षेत्रको माग पुरा गर्न र स्वास्थ्य सेवा र खोप वितरण प्रणालीलाई सबल बनाउन सहयोग गर्नेछ ।' श्री जर्भोसले थपे ।
नेपाल सरकारको महामारी विरुद्धको स्वास्थ्य प्रतिकार्यका लागि विश्व बैङ्कले १०४ मिलियन मेरी डलर उपलब्ध गराई सकेको छ, जसअन्तर्गत कोभिड-१९ विरुद्धका खोपहरूको खरिद र विस्तारका लागि ६७.५ मिलियन डलर विनियोजन गरिएको छ ।
अघिल्लो महिनामा विश्व बैङ्कका तर्फबाट १ हजार थान अक्सिजन कन्सन्ट्रेटरहरू र सात वटा अक्सिजन जेनरेटर प्लान्टहरू ल्याइएको थियो जुन सातै वटा प्रदेशहरूमा स्थापना गरिदैंछ । यी कार्यहरूले भविष्यमा आउन सक्ने महामारीका अन्य लहरहरूसँग जुध्नका लागि सरकारको स्वास्थ्य प्रणाली तयारीलाई सुदृढ बनाउन सहयोग गर्नेछ ।