arrow

तनहुँमा भदौ ७ सम्म निषेधाज्ञा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
Tanahu-hamrakura.jpg.jpeg

दमौली । तनहुँमा पुनः निषेधाज्ञा आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आजदेखि ७ गतेसम्मका लागि सो आदेश जारी गरेका हुन्। जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोनाको जोखिम अझै कायमै रहेको जनाउँदै यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेको थियो । 

कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक आचार्यले थपिएको निषेधाज्ञा पहिलाको भन्दा कडा हुने र उल्लङ्घन गर्नेलाई जरिवाना गरिने बताए । पसल खोल्ने समय अहिले घटाएर बिहान ५ देखि १० बजेसम्म मात्रै खोल्न र व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिइने तर अन्य क्रियाकलापमा भने पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ ।

जिल्लामा दिनदिनै कोरोना सङ्क्रमित बढ्दै गएका र अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ४७६ पुगेको छ । वैशाखदेखि यता चार हजार ६९७ जनामा सङ्क्रमण पुष्टि भएकामा चार हजार १२२ निको भएका र ९९ को मृत्यु भएको छ । 

‘ट्रि हाउस’ बन्द
कोरोनाको जोखिम बढेपछि तनहुँको म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको हरियाली पार्क सहितको ट्रि हाउस बन्द गरिएको छ । पछिल्लो समय चर्चित यस स्थलमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेकाले जोखिम बढ्न नदिन केही समयका लागि बन्द गर्ने निर्णय गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयको निर्देशनमा अर्को सूचना जारी नभएसम्मका उक्त स्थल बन्द गर्ने निर्णय गरिएको सामुदायिक वनका अध्यक्ष ईश्वर रानाभाटले जानकारी दिनुभयो । ट्रि हाउसमा बिदाका दिनमा चार-पाँच सय र अन्य दिन एक सय आन्तरिक पर्यटक पुग्ने गरेका थिए । 

डिभिजन वन कार्यालयको रु १२ लाख ५० हजारको लागतमा उद्यान सहितको ‘ट्रि हाउस’ निर्माण गरिएको थियो । रुखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । पृथ्वीराजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीयस्थल बनाउन उद्यानका साथै रुखमा घर बनाइएको थियो । रुखलाई भित्र पारेर निर्माण गरिएको दुई तहको काठको घरबाट दृश्यावलोकन गर्न सकिन्छ । राजमार्गबाट नजिकै भएकाले पनि यस ठाउँले चर्चा पाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ