arrow

व्यवसायीलाई खोप उपलब्ध गराउन गुल्मी चेम्बरको माग

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७८ भदौ ३ बिहिबार
cdo-gulmi.JPG

गुल्मी । गुल्मी चेम्बर अफ कमर्सले जिल्लाका सम्पूर्ण व्यवसायीहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । चेम्बरले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक र कर्मचारीहरूलाई प्राथमिकतामा राखी कोभिड खोप उपलब्ध गराउन माग गरेको हो । चेम्बरले बिहीबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई व्यवसायीहरूको लागि खोप उपलब्ध गराउन भन्दै पत्र समेत बुझाएको छ ।

 चेम्बरले जिल्लामा रहेका सबै प्रकारका व्यवसायीहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेको अध्यक्ष युवराज न्यौपानेले जानकारी दिए । उनले देशको अर्थतन्त्रलाई माथि उकास्ने र ठुलो मात्रामा राज्यलाई कर तिर्ने सबै प्रकारका व्यवसायीहरूलाई कोरोना विरुद्ध भएको खोप अझै उपलब्ध नभएकाले जिल्लास्थित सबै व्यवसायीलाई खोप उपलब्ध गराउन माग गरिएको बताए । 

माग पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले व्यवसायीहरूलाई लक्षित गरी अझै खोप नआएकाले बचत भएको खोपको आधारमा उपलब्ध गराउने बताइन् । जिल्लामा आएर लक्षित समूहले लगाएपछि बचत भएको खोप चरणबद्ध रूपमा प्राथमिकताका आधारले व्यवसायीलाई उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् । व्यवसायीलाई खोप उपलब्ध नभएको विषयमा आफूलाई ध्यानाकर्षण भएको भन्दै प्रजिअ शर्माले कुनै न कुनै मापदण्डको आधारमा सङ्ख्यात्मक हिसाबले खोप उपलब्ध गराउने बताइन् । 

गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष युवराज न्यौपाने, वरिष्ठ उपाध्यक्ष वीरेन्द्र भुसाल, उपाध्यक्ष रेमलाल पाण्डे, महासचिव कृष्ण प्रसाद भण्डारी र सचिव यज्ञश्वर पन्थी लगायतले जिल्ला प्रशासन कार्यालयमा गई प्रमुख जिल्ला अधिकारी शर्मालाई माग पत्र बुझाएका थिए।

उनीहरूले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने उद्यमी व्यवसायीले निषेधाज्ञामा अग्र भागमा रहेर उपभोग्य वस्तुहरूको निर्बाध उत्पादन तथा वितरणका लागि काम गरिरहेकाले निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । अर्थतन्त्रलाई लयमा फर्काउन र सरकारका आर्थिक लक्ष्यलाई पूरा गर्नसमेत निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ