arrow

माधव नेपाललाई धोका दिएका नौ जना नेताहरुद्धारा एकता आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
madhav-kumar-nepal-makune-uml.jpg

काठमाडौं । माधवकुमार नेपाललाई धोका दिएर नेकपा एमाले नछाड्ने अडान लिएका नेपाल पक्षका पूर्व नौ जना नेताहरुले नेकपा एमाले एकताका लागि आह्वान गरेका छन् । पार्टी एकताका लागि प्रयासरत उनीहरुले माधवकुमार नेपाल पक्षले नयाँ पार्टी घोषणा गरी दर्ता प्रक्रियासमेत अगाडि बढाएका अवस्थामा पार्टी एकताका लागि संयुक्त वक्तव्य जारी गरी आह्वान गरेका हुन् । 

मध्यमार्ग अपनाएको बताइए पनि उनीहरुले नेकपा एमालेको पदधारण गर्दै सोही पदअनुसार नै एकताको आह्वान गरेका हुन् । आह्वान गर्नेमा माधव नेपाललाई धोका दिएर केपी शर्मा ओली पक्षमा लागेकै कारण गत बुधबार बागमती प्रदेशको मुख्यमन्त्री पाउन सफल अष्टलक्ष्मी शाक्यले एमाले उपाध्यक्षको हैसियतमा वक्तव्यमा हस्ताक्षर गरेकी छिन् । 

त्यस्तै उपाध्यक्षद्धय युवराज ज्ञवाली र भीम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिवत्रय भीम आचार्य, गोकर्ण विष्ट, र योगेश भट्टराई रहेका छन् । त्यस्तै स्थायी कमिटी सदस्यद्धय सुरेन्द्र पाण्डे र रघुजी पन्तले पनि हस्ताक्षर गरेका छन् । 

उनीहरुले आफूहरु विभाजित पार्टीको एकताका लागि अझै क्रियाशील रहेको जनाएका छन् । उनीहरुले सरकारले जारी गरेको दल विभाजन सम्वन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा पार्टीमा १४ जना सांसदमाथि गर्ने भनिएको कारबाही रद्द गर्नुपर्ने माग गरेका छन् ।

वक्तव्यमा पार्टीलाई विभाजित र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयनका लागि आग्रह गरिएको छ । संयुक्त वक्तव्यमा एमालेका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई सहमतिको कार्यान्वयन, पार्टीको एकता र विधिसम्मत सञ्चालनको पक्षमा उभिन, धैर्य, सुझबुझ र सक्रियताका साथ सकारात्मक भूमिका निर्वाह गर्न पनि आह्वान गरिएको छ । 

वक्तव्य निकाल्ने नौ जना नेताहरुले माधवकुमार नेपालको काँध थापेकै कारण केपी शर्मा ओलीविरुद्ध विद्रोह गर्न बल पुगेको थियो । सोही आधारमा नेता नेपाल नयाँ पार्टी गठन गर्न अग्रसर भएका थिए । तर विभिन्न कालखण्डमा आएर उनीहरु पछि हट्दै गएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ