arrow

सन्दीप क्षेत्री बने हाम्रो पात्रोको ब्रान्ड एम्बेसडर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
hamropatro-brand-ambassador-sandip.jpg

काठमाडौं। हाँस्य कलाकार एवं कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्री लोकप्रिय नेपाली एप हाम्रो पात्रोको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। हाम्रो पात्रोले बुधबारदेखि लागु हुने गरी क्षेत्रीलाई आफ्नो ब्रान्ड एम्बेसडर बनाएको जनाएको छ।

हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड एक करोड पूरा भएको उपलक्ष्यमा क्षेत्रीसँग सहकार्य गर्न लागिएको बताए। ‘कम्पनीले थुप्रै नयाँ योजना तथा फिचरको क्षेत्रमा काम गरिरहेको छ’, उप्रेतीले भने, ’त्यसको व्यवसायिक प्रवर्द्धनमा उहाँको साथ खोजेका हौं।’

त्यस्तै हाँस्य कलाकार क्षेत्रीले ‘हाम्रो पात्रो’ आम नेपालकीको जनजीवन सहज बनाउने एप भएको उल्लेख गर्दै यससँग जोडिन पाउनु आफ्नो लागि उत्साहपूर्ण विषय भएको बताए।

‘मेरो मोबाइलमा डाउनलोड भएको पहिलो कुनै नेपाली एप थियो भने त्यो हाम्रो पात्रो नै हो’, उनले भने, ‘मैले आफ्नो मोबाइलमा हाम्रो पात्रो डाउनलोड गरेको धेरै वर्षपछि मात्र यो एप बनाउने मान्छे मेरो आफ्नै साथी हो भन्ने कुरा थाहा पाएको थिएँ। त्यसपछि नै सँगै केही गरौं भनेर यो सहकार्य शुरु गरेका हौं।’

एउटै एपबाट अनेक सेवा लिन सकिने पहिचान बनाएको हाम्रो पात्रोले थप नयाँ सेवाहरूसमेत ल्याउने तयारी गरिरहेको जनाएको छ। 

कम्पनीले हालैमात्र म्यासेजिङ सेवाको रुपमा  ‘हाम्रो म्यासेज’ ल्याएको छ । बेटा भर्सनमा रहेको यो सुविधा अब चाँडै पूर्ण रुपमा आउनुका साथै ओएसमा समेत उपलब्ध हुनेछ। 

त्यस्तै निकट भविष्यमा लेनदेन तथा खर्चको विवरण राख्न सकिने ‘हिसाबकिताब’,परिकार बनाउन सिकाउने ‘हाम्रो भान्सा’ र तस्वीर तथा कागजातमा भएका अक्षरलाई युनिकोडमा उतार्न सघाउने ‘हाम्रो अक्षर’ जस्ता सुविधाहरु थप गर्ने तयारी भइरहेको संस्थापक उप्रेतीले जानकारी दिए।

सन् २०१० मा शुरु भएको हाम्रो पात्रो अन्तर्गत ‘हाम्रो किबोर्ड’,‘हाम्रो डिक्सनरी’,‘हाम्रो लुडो’,‘कलब्रेक एन्ड जटपत्ती’, 
‘हाम्रो म्यागेजिन’ लगायतका एपसमेत सञ्चालनमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ