arrow

भारतले बनायो विश्वकै पहिलो 'डीएनए कोरोना खोप, लगाउन सुई पनि नचाहिने'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ६ आइतबार
zycovd.jpg

काठमाडौं। भारतको औषधि महानियन्त्रक (DCGI)ले आइतबार जाइडस क्याडिला (Zydus Cadila)ले उत्पादन गरेको सुईरहित कोभिड१९विरुद्धको डीएनए खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । जाइकोभ-डी (ZyCoV-D) नाम दिइएको यो खोप कोरोना भाइरसविरुद्ध विश्वकै पहिलो डीएनए खोप हो । 

भारतमा हालसम्म भारत बायोटेकले बनाएको कोभ्याक्सिन, अक्सफोर्ड-एस्ट्राजेनेकाको कोभिसिल्ड, रसियन स्पुतनीक-भी, मोडर्ना र जोन्सन एन्ड जोन्सनको खोपले अनुमति पाएको छ । जाइकोभ-डी भारतमा प्रयोगका लागि अनुमति पाउने छेठौं कोरोना भाइरसविरुद्धको खोप बनेको छ ।

भारतको अहमदाबाद स्थित जाइडस क्याडिला फार्मास्युटिकल्सले जाइकोभ-डीको विकास गरेको हो ।

कसरी काम गर्छ जाइकोभ-डीले ?

यो 'प्लाज्मिडड' डीएनए खोप हो । कोरोना भाइरसविरुद्ध विश्वमा बनेको पहिलो डीएनए खोप नै जाइकोभ-डी हो । आरएनए खोपलाई परम्परागत र डीएनए खोप आधुनिक तरिकाको खोप मानिन्छ ।  

याे खोपमा रहने प्लाज्मिड जेनेटिकल्ली इन्जिनियर्ड प्लाज्मिड हाे । शरिरमा प्रवेश गरेपछि यसले कोषीकाहरुलाई कोभिड१९विरुद्ध एन्टीबडी बनाउँन निर्देशन दिन्छ ।

जाइकोभ-डी सुईरहित खोप

यो खोप दिनका लागि सुईको प्रयोग गरिने छैन् । यसका लागि जेट इन्जेक्टर प्रयोग हुन्छ । जसले छालाबाटै उच्च प्रेसर दिँदै खोपमा रहेकाे तरल पदार्थलाई शरिरभित्र पुर्याउँछ । यद्यपि, यो प्रविधि नयाँ भने हैन्, सन् १८६६ मा पहिलो पटक यसको प्रयोग भएको थियो ।

तीन डोज लगाउनु पर्ने

अहिलेसम्मका कोभिड१९विरुद्धका खोपहरु दुई डोज र एक डोज गरी लगाइने भए पनि जाइकोभ-डी भने ३ डोज गरी लगाइन्छ ।

पहिलो मात्रा दिएको २८ दिनपछि दोस्रो र ५६ दिनपछि तेस्रो मात्रा लगाइने छ । कम्पनीले दुई डोजको खोपको पनि विकास गरिरहेको बताएको छ ।

कति प्रभावकारी छ ?

२८ हजार जनामा गरीएको परीक्षणबाट यो खोप ६६ प्रतिशत प्रभावकारी देखिएको छ । यो खोप १२ वर्षभन्दा माथि सबैका लागि प्रभावकारी रहेको कम्पनीले जनाएको छ । यो खोप २ देखि ८ डीग्री तापक्रममा भण्डारण गर्न सकिन्छ ।

जाइडस कम्पनीका अध्यक्ष पंकज आर पटेलले खोपले अनुमति पाएकोमा खुसी व्यक्त गरेका छन् । विश्व स्वास्थ्य संगठनले डीएनए खोप नयाँ प्रयास रहेको भन्दै खोपको चर्चा गरेको छ ।

क्याडिलाले एक वर्षमा १० देखि १२ कराेड डाेज खाेप उत्पादन गर्न सक्ने बताएकाे छ । याे खाेप चाँडै नै लगाउनका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।



नयाँ