arrow

इङ्गल्याण्डमा १२औँ नेपाली मेला 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
england-flag.jpg

लण्डन । प्रत्येक वर्षजस्तै यस वर्ष पनि इङ्गल्याण्डमा नेपाली मेला हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस वर्ष आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले जनाएको छ । इङ्गल्याण्डमा सबैभन्दा धेरै नेपाली सदस्य रहेको परोपकारी संस्था तमुधिं युकेले लण्डनस्थित नेपाली दूतावाससँगको सहकार्यमा मेला गर्न लागिएको जनाएको छ ।

नेपाली संस्कृति, कला र पहिचानलाई  जहाँ पुगे पनि जगेर्ना गर्नुपर्छ भन्ने मूल उद्देश्यका साथ गरिन लागिएको नेपाली मेलामा यसपटक पनि नेपाली जातजातिका वेषभूषा र झाँकी प्रदर्शन गरिने तमुधिं युकेले जनाएको छ । नेपाली मेलाको उद्घाटन बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले गर्ने र उक्त दिन लाग्ने खर्चमा नेपाली दूतावासले पनि आर्थिकरूपमा सहयोग गर्ने बताइएको छ । 

सार्क राष्ट्रबाट बेलायतमा दूतावास हुने देशहरूका कूटनीतिक प्रतिनिधिलाई निमन्त्रणाका लागि नेपाली दूतावासले जिम्मा लिएको छ । यही अगस्त १९ तारिखबाट बेलायतमा बन्दाबन्दी खुले पनि मास्क लगाउन यहाँको सरकारले अनुरोध गरेका कारण मेलामा पनि सबैलाई अनिवार्य मास्क लगाएर आउन अनुरोध गरिएको छ । 

नेपाली कला र संस्कृतिका साथै नेपाली वस्तु र खानाहरूको बिक्री वितरणका लागि स्टल रहने जनाइएको छ । गत वर्षहरूमा झै यस वर्ष पनि दूतावासको तर्फबाट एक स्टल राखेर नेपाललाई चिनाउने पर्यटकीय दृश्य तथा नेपालसम्बन्धी जानकारी दिइने नेपाली दूतावासको योजना रहेको दूतावासले जनाएको छ ।

मेलामा झाँकी  र नृत्य दुवैमा प्रथम हुने समूहलाई एक हजार एक सय पाउण्डसहित ‘एम्बासडर कप’ र प्रथम हुनेलाई अतिरिक्त ३०० पाउण्डको ‘एनआरएनए युके कप’ पनि दिइने बताइएको छ ।

झाँकीतर्फ प्रथम हुनेलाई ५०० र दोस्रो हुनेलाई ३०० तथा नृत्यमा प्रथम हुनेलाई ५०० पाउण्ड र दोस्रो विजेतालाई ३०० पाउण्ड प्रदान गरिनेछ । मेलाका लागि नेपाली दूतावासबाट दुई हजार ५०० पाउण्ड सहयोग प्राप्त भएको तमुधिँ युकेले जानकारी दिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ