arrow

माधव नेपालको दल दर्ता रोक्न ओलीको अन्तिम प्रयत्न, आकस्मिक पत्रकार सम्मेलन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
kp-oli-uml-standing-committee.jpg
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेबाट छुट्टिएर नयाँ दल दर्ता प्रक्रियामा रहेका माधवकुमार नेपालको पार्टीलाई प्रभाव पार्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । 

बुधबार बिहान ११ बजे ललितपुरको तुल्सीलाल स्मृति भवनमा पत्रकार सम्मेलन गर्ने तयारी भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले मिडियालाई जानकारी दिएका छन् । यद्यपि उनले स्थायी कमिटी बैठकका निर्णय र पार्टीको पछिल्लो उतारचढावबारे ओलीले जानकारी दिन लागेको बताएका छन् । 

मंगलबार मात्रै स्थायी कमिटी बैठकमार्फत सबैलाई पार्टीमा आएका खण्डमा कसैलाई पनि कारबाही नगर्ने ओलीले बताएका थिए । 

माधव नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेका छन् । आयोगले बुधबार दल दर्ताका लागि सनाखत शुरु गर्दैछ । आयोगले माधव नेपालको दलसहित महन्थ ठाकुरको दललाई नयाँ दलमा आउन हस्ताक्षर गरेका पुरानो दल एमाले र जनता समाजवादी पार्टीको संसदीय दलका सांसदहरुलाई सनाखतका लागि बिहान ११ बजेदेखि २ बजेसम्म बोलाएको छ ।

निर्वाचन आयोग उच्च स्रोतका अनुसार आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया बुधबार नै सकेर दल दर्ताको निर्णय गर्नेछ । 

यसलाई प्रभावित पार्नका लागि ओलीले ११ बजे पत्रकार सम्मेलन गर्न लागेको आरोप माधव नेपाल पक्षका नेताहरुले लगाएका छन् । 

माधव नेपालको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दलमा पुरानो दल एमालेबाट ५७ जना केन्द्रीय सदस्यको नाम आयोगमा बुझाइएको छ । त्यसमध्ये ५५ जनाले मात्रै हस्ताक्षर गरेका छन् । सनाखत प्रक्रियामा पनि उनीहरुनै सहभागी हुनुपर्ने छ ।

सरकारले दल विभाजनसम्वन्धि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशतको व्यवस्था गर्दै ल्याएको अध्यादेश अनुसार एमालेको केन्द्रीय कमिटीको कूल २०३ संख्या मध्येको २० प्रतिशत अर्थात् ४१ जना जना सदस्य नयाँ दल खोल्नका लागि नेपाल समूहले आयोगमा पुर्याउनु पर्ने हुन्छ ।

यस्तै नयाँ थप सहित नेपालले नेतृत्व गर्ने दलमा ११५ जना केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ । 

माधव नेपालले मंगलबार चन्द्रागिरीमा पत्रकार सम्मेलनमार्फत आफूहरुसँग २० प्रतिशतभन्दा बढी सांसदहरु रहेको दाबी गरेका छन् । 

ओलीले भने ती सांसदहरुलाई समेत आफ्नो पक्षमा ल्याउनका लागि विभिन्न प्रयत्न गरिरहेका छन् । ओली समूहले माधव नेपाल बाहेक सबैलाई एमालेमा फर्काउन चाहेको छ । त्यही कसरत स्वरुप पत्रकार सम्मेलन आयोजना गरी निर्वाचन आयोगमा जानबाट रोक्ने योजना बुनिएको बुझिन्छ । 

केही नेताहरुलाई व्यक्तिगत रुपले फोन सम्पर्क गरी पार्टीमै फर्किन समेत नेताहरुले आग्रह गरेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ