arrow

मोडर्ना र फाइजर खोपका लागि ‘अल्ट्रा कुल चेन’ र ‘सुपर कुल चेन’ भण्डारण क्षमता बढाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
department of health.jpg

काठमाडौं । स्वास्थ्य सेवा विभागले मोडर्ना र फाइजर खोप भण्डार गर्न सकिने किसिमले भण्डारण क्षमता बढाउने भएको छ । मोडर्नालाई १५ देखि २५ डिग्री सेल्सियस र फाइजरलाई ७० देखि ८० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्दछ ।

यी दुवै खोपलाई बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागेको विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको हो । 

शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले सामान्य तापक्रममा खोप राख्नका लागि १९ वटा वाकिङ कुलर तथा बढी चिस्यानमा राख्नका लागि ‘अल्ट्रा कुल चेन’ र ‘सुपर कुल चेन’को भण्डारण क्षमता बढाउन थालिएको बताएका छन् । मोडर्नाका लागि सुपर कुल चेन र फाइजरका लागि अल्ट्रा कुल चेनका भण्डार आवश्यक पर्दछन् ।  

“मोडर्ना र फाइजर खोप बढी चिस्यानमा राख्नुपर्ने हुन्छ” उनले भने, “त्यसैले ती खोपलाई आवश्यक तापक्रम अनुसारको भण्डारण क्षमता बनाइने छ ।” ती खोपका लागि आगामी अक्टोबर महिनासम्म भण्डारण क्षमता विस्तार गरिसक्ने उनको भनाइ छ । 

कोभिड–१९ खोप विज्ञ सल्लाहकार समूहका संयोजक डा. श्यामराज उप्रेतीले सामान्य तापक्रमका लागि भण्डारण गर्ने क्षमता नेपालमा भए पनि अत्यधिक चिसोमा राखिने खोपका लागि भण्डारण क्षमता नभएकाले बनाउन थालिएको बताए । 

फाइजर खोप ७० देखि ८० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म राख्न सकिन्छ । त्यसपछि दुई हप्तासम्म १५ देखि २५ डिग्री सेल्सियसमा राखेर एक महिनासम्म २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्ने सकिने उनको भनाइ छ । 

उनले मोडर्ना र फाइजर खोप बाहिरबाट ल्याएर काठमाडौँमा मात्र भण्डार गर्न सकिने बताए । “ती दुई खोप यहाँ मात्र भण्डार गर्ने र यहाँ राखिसकेपछि मात्र प्रदेशमा पठाउने व्यवस्था गर्नुपर्दछ” उनले भने, “ ती दुई खोप राख्नका लागि त्यही अनुसारको तापक्रमको भण्डारण बनाउने तयारी भइरहेको छ ।”

मोडर्ना र फाइजर दुवै खोप अमेरिकाबाट ल्याइने भएको छ । फाइजर खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने भएको छ । मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा खोप पुस महिनाभित्रमा ल्याइने सरकारको तयारी छ । 

अहिले आएका भेरोसेल र कोभिशिल्ड खोपका लागि २ देखि ८ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्दछ । उनले अहिलेसम्म भेरोसेल र कोभिशिल्ड खोप मात्र भण्डारण गर्नुपर्ने र त्यसलाई एकै तापक्रममा राखिन सक्ने भएकाले समस्या नभएको उनले बताए । 

कोभिशिल्डभन्दा भेरोसेल खोपले भण्डारणका लागि धेरै ठाउँ ओगटने गरेको आपूर्ति शाखाका प्रमुख ढुङ्गानाले बताए ।  उनका अनुसार एक करोड लाख मात्रा  कोभिशिल्ड खोप राख्ने क्षमतामा दश लाख मात्र भेरोसेल खोप राख्न सकिन्छ । भेरोसेल खोपको प्याकेजिङ ठूलो भएकाले धेरै ठाउँ ओगट्ने गरेको पाइएको छ । 

अहिले खोपलाई विभागकै भण्डारणमा राखेर प्रदेशमा पठाइने गरिएको छ । सरकारले असोज मसान्तसम्म एक करोड दुई लाख मात्रा र आगामी चैतसम्म तीन करोड २३ लाख मात्रा खोप अनुदान र खरिद गरेर ल्याउने तयारीमा छ ।



नयाँ