- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। विपद्का विभिन्न घटनामा परेर ३१ जेठयता हालसम्म ८५ जनाले ज्यान गुमाएका छन् । देशभर आएका बाढी तथा पहिरोसहितका विपद्का घटनाबाट यस वर्ष ३१ जेठयता ८५ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको हो । यो अवधिमा ४४ जना व्यक्ति ती विभिन्न घटनामा परेर बेपत्ता भएका छन् ।
शुक्रवार गृहमन्त्री बालकृष्ण खाँणले विपद्का घटनाबाट भएको यस वर्षको क्षति र अवस्थाबारे लिएको जानकारीमा यो विवरण प्रस्तुत भएको हो ।
सो क्रममा पछिल्लो वर्षाले नवलपरासी र रुपन्देहीमा बढी क्षति पुर्याएको जानकारी गृहमन्त्रीलाई गराइएको छ । यस्तै कैलाली र उदयुरमासमेत केही स्थानमा क्षति पुगेको तथा नारायण–बुटवल सडकखण्ड अवरुद्ध भएको जानकारी गराइएको छ ।
यसैगरी बाढी पहिराले पछिल्लो समय ३८ जिल्लामा भएको क्षतिको पुनर्निर्माणका लागि १ अर्ब ११ करोड खर्च लाग्ने जानकारी गृहमन्त्रीलाई गराइएको छ ।
यसैगरी नारायणघाट– मुग्लिन सडक अवरुद्ध भएको, बर्दघाट डुबानमा परेको, मनाङमा बाढी पहिरो क्षतिको पुनर्निर्माणको काम प्रभावित भए पनि सडक निर्माणको काम अन्तिम चरणमा रहेको, बाजुरामा सडक निर्माणमा कठिनाइ भएको विषयमा पनि गृहमन्त्रीलाई जानकारी गराइएको छ ।
सो क्रममा गृहमन्त्री खाँणले सुरक्षा निकायलाई उद्धार तथा राहतकामा सक्रिय हुन निर्देशन दिएका छन् भने बाढीले भत्काएका पुल बनाउन र तत्कालका लागि अस्थायी पुल राखेर भए पनि अवरुद्ध सडक तथा राजमार्ग सुचारु गर्न निर्देशन दिएका छन् ।
बैठकमा गृह सचिव टेकनारायण पाण्डे, राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, नेपाली सेनाका सहायक रथी रामनाथ ढुंगान, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी, गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल, जलस्रोत तथा सिँचाइ विभाग, खानी तथा भूगर्भ विभाग, सडक विभागबाटसमेत प्रतिनिधिहरू सहभागी भएका थिए ।
बैठकमा आ–आफ्नो कार्यक्षेत्रमा पर्ने स्थानमा भएको क्षतिबारे विवरण प्रस्तुत भएको थियो ।