arrow

पार्टीलाई घात गर्नेलाई महाधिवेशनबाट पाखा लगाउनुपर्छ: डीना

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ भदौ १६ बुधबार
mahalaxmi-dina.jpg

हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले यसअघिको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन लाग्नेहरुलाई महाधिवेशनमा ठेगान लगाउनुपर्ने बेला आएको बताएकी छिन् ।

बुधबार नेपाल तरुण दल हेटौंडा उपमहानगर समितिले आयोजना गरेको तरुण भेलामा उनले पार्टीको विरुद्धमा जानेहरुलाई महाधिवेशनमा जिताउन नहुने बताएकी हुन् ।

‘यही १८ गतेबाट पार्टीको महासिधवेशन सुरु हुँदैछ । सहमति, सहकार्य र एकतालाई पहिलो प्राथमिकतामा राखौं । धेरैले क्षेत्रीय प्रतिनिधिमा दावी गरिरहेको पाएको छु, नयाँ कृयाशील साथीहरुले वडा, पालिका र क्षेत्रीय समितिमा बसेर काम गर्दा राम्रो हुन्छ’, नेतृ डीनाले भनिन्, ‘प्रत्येक वडाबाट कम्तिमा १६ जना प्रतिनिधि आउनेछन् । सबै क्षेत्रको प्रतिनिधित्व सुनिश्चित छ ।

 नेपालको राजनीतिमा तरुणको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले अब तरुण दल संगठन निर्माणमा समेत खट्नु आवश्यक भएको सुझाव दिइन् । कांग्रेसको बहुमत नहुँदा पनि अहिले सरकार सञ्चालन गर्ने अवसर आएको भन्दै उनले जनताले कांग्रेसलाई चाहेको प्रष्ट भएको दावी गरिन् ।

यस्तै कांग्रेस मकवानपुर सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले तरुण दलमा आबद्ध नेता कार्यकर्ता इमान्दार हुनुपर्ने सुझाव दिए । कांग्रेसको महाधिवेशन सफल बनाउन तरुण दलको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो ।

कांग्रेस हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुलीले आफूहरु जनता र कार्यकर्ताको माझमा भैरहँदा केही नेताहरु पार्टी कार्यालयमा धर्ना दिन गएको भन्दै अब गुट उपगुट छोडेर अघि बढ्नुपर्ने बताए । कांग्रेसका सबै नेता कार्यकर्ता अब आउने स्थानीय निर्वाचन केन्द्रीत हुनुपर्ने उनको धारणा थियो ।

तरुण दल नगर अध्यक्ष सुनिल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका जिल्ला उपसभापति बिष्णुप्रसाद लामिछाने, प्रवक्ता प्रदीप कोइराला, क्षेत्र नम्बर २ का संघीय सभापति यतिराज सापकोटा, कांग्रेसको कोभिड १९ अनुगमन समिति संयोजक उत्सव ईटेनी, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, महिला संघ जिल्ला सचिव निलम देवकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए । महाधिवेशनको पूर्व सन्ध्यामा तरुण दल नगर समितिले तरुण भेलाको आयोजना गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ