arrow

६ लाखले अझै एस्ट्राजेनेकाको दोस्रो डोज लगाउन बाँकी

१८ लाख एस्ट्राजेनेका खोपमध्ये झन्डै ११ लाख डोज खपत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
health_ministry_1617956882.JPG

काठमाडौं । कोरोना भाइरसविरुद्ध कोभिसिल्ड खोप लगाएका झन्डै ६ लाखले अझै दोस्रो डोज लगाउन बाँकी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बुधवारसम्मको तथ्याङ्क अनुसार ७ लाख ७२ हजार ५ सय ४३ जनाले दोस्रो डोज लगाएका छन् ।

भारत र कोभ्याक्स सुविधाबाट समयमै खोप नआउँदा १३ लाख ६८ हजार १ सय ७६ जनाले समयमै कोभिसिल्ड (एस्ट्राजेनेकाको भारतीय उत्पादन) समयमै लगाउन पाएका थिएनन् ।

१३ लाख ६८ हजारमध्ये ७ लाख ७२ हजारले बुधवार अर्थात् भदौ १६ गतेसम्म दोस्रो डोज लगाइ सकेका छन् । तर, अझै ५ लाख ९५ हजार ६ सय ३३ जनाले दोस्रो डोज लगाउन भने बाँकी देखिएको हो ।

जापान सरकारले करिब १५ लाख र भुटानले करिब ३ लाख डोज खोप उपलब्ध गराएपछि सरकारले साउन २४ गतेदेखि एस्ट्राजेनेकाको दोस्रो डोज लगाउन सुरु गरेको थियो । जापान र भुटानले दिएको गरेर सरकारसँग करिब १८ लाख डोज खोप जम्मा भएको थियो । 

१८ लाखमध्ये १० लाख ७८ हजार ९ सय ७ डोज खोप भदौ १६ गते अर्थात् बुधवारसम्म लगाइ सकिएको छ । १० लाख ७८ हजारमध्ये  ३ लाख ६ हजार ३ सय ६४ जनाले एक डोज र ७ लाख ७२ हजार ५ सय ४३ जनाले दुवै डोज लगाएका छन् । सरकारले कक्षा १२ का विद्यार्थीहरूलाई एस्ट्राजेनेकाको खोप लगाउन थालेको थियो ।

यसरी हेर्दा अब सरकारसँग करिब ७ लाख डोज खोप मात्रै देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा बाँकी रहेको देखिन्छ । सबै खोपमध्ये केही डोज खोप खेर समेत जाने भएकाले सरकारसँग दोस्रो डोज खोप लगाउन अझै पुगनपुग हुनसक्ने सङ्केत देखिएको छ ।

यससँगै देशका विभिन्न स्वास्थ्य संस्थामा विद्यार्थीहरूलाई पहिलो डोज खोप लगाउने क्रम जारी छ । यस्तै तत्काल एस्ट्राजेनेका खोप खरिद एवं  भित्रिने सम्भावना पनि देखिएको छैन । खोप अभियानमा केन्द्र र स्थानीय तहबिच उचित समन्वय हुन नसके खोप वितरणमा समस्या सिर्जना हुने सम्भावना देखिन्छ ।



नयाँ