arrow

महाधिवेशनमा काँग्रेस : भक्तपुरबाट सभापति देउवाले गरे वडा अधिवेशन उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
deuba-congress-election.jpg

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया सुरु भएको छ । काँग्रेसले शुक्रवारबाट देशभरका ६ हजार ७ सय ४३ वडाबाट अधिवेशनको प्रक्रिया थालेको हो ।  

काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले केही बेरअघि भक्तपुरबाट वडा अधिवेशनको उद्घाटन गरेका हुन् । देउवाले मध्यपुर ठिमी नगरपालिका ४ र सुर्यविनायक नगरपालिका ५ को अधिवेशन उद्घाटन गरेका हुन् ।  सो क्रममा उनले पार्टीलाई वडा तहदेखि नै बलियो बनाउने गरी जनताको मन जित्ने काम गर्न पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिए । ‘हामी आजबाट महाधिवेशनमा होमियौँ, तपाईँहरूले वडा तहदेखि नै पार्टीलाई बलियो बनाउने र जनताको मन जित्ने गरी काम गर्नु होला,’ सभापति देउवाले वडा अधिवेशन उद्घाटन गर्दै भने । 

काँग्रेसले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमा सार्वजनिक गरेको छ । सोही अनुसार निर्वाचन अधिकृत तोकिएका जिल्लामा अधिवेशन शुक्रवारबाट सुरु भएको हो ।  तर सबै जिल्लाका क्रियाशील सदस्यता एकै पटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएका केही जिल्लामा भने २३ गते भित्र अधिवेशन हुने छ । काँग्रेसले यसै वडा अधिवेशन मार्फत विधान अनुसारको सबै भन्दा तल्लो तहको नयाँ नेतृत्व चुन्ने छ ।

अधिवेशन तोकिन बाँकी जिल्लामा हुने वडाको निर्वाचनको मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्ने गरी काँग्रेस केन्द्रले अधिकार प्रत्यायोजन गरेको छ । 

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले अधिवेशन प्रक्रिया सुरु भइसकेको र २३ गते भित्र सबै वडामा अधिवेशनले नयाँ नेतृत्व छानिसक्ने जानकारी दिए । 
काँग्रेसले २१ जिल्लाको क्रियाशील सदस्यताको नामावली भने अझै सार्वजनिक गरेको छैन । ती जिल्लाका सदस्यता पनि आर्ज साँझसम्म सार्वजनिक गर्ने काँग्रेसको तयारी छ । 

यसअघि काँग्रेसले १० भदौमा ३८ जिल्ला, ११ भदौमा १० जिल्ला र १२ गते पाँच जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो । यस्तै थप तीन जिल्लाको १५ भदौमा सार्वजनिक गरिएको थियो । 

निर्धारित कार्यतालिका अनुसार काँग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँ/नगर अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख छ । 

यसै गरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिक देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मङ्सिरसम्म काठमाडौँमा हुने उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ