arrow

कोरोना बिमा रकम भुक्तानी नभएपछि पत्रकारहरू अदालतमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
FNJ-pp.jpg

बिराटनगर। नेपाल पत्रकार महासङ्घ मोरङले सम्झौताबमोजिम पत्रकारहरुको कोरोना बिमा रकम भुक्तानी नगरेकाले आज उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ ।महासङ्घका तर्फबाट सचिव नेत्रप्रसाद अधिकारीले ३१ जना पत्रकारहरुको बिमा भुक्तानी नभएकाले अदालतमा भुक्तानी रकम पाऊँ भनी रिट निवेदन दायर गरेका हुन्।

विपक्षीले कानुनबमोजिम भुक्तानी दिनुपर्ने रकम रोकेर राखी निवेदकहरूको संवैधानिक एवं कानुनी हक अधिकारमा आघात पुर्‍याउने काम गरेकाले नेपालको संविधानको धारा १८ र बिमा ऐन, २०४९ को दफा ८ तथा कोरोना बिमा मापदण्ड, २०७७ को दफा ११, १६(३), (४) र (५) बमोजिम बिमितहरुले बिमाङ्क रकम पाउने अधिकार हनन भएको रिट निवेदनमा उल्लेख गरिएको छ ।

मोरङ शाखा र अजोड इन्स्योरेन्स कम्पनीबीच द्विपक्षीय सम्झौता भई मोरङका २१० जना पत्रकार र उनीहरूका परिवारका सदस्यहरूको बिमा गरिएका मध्ये ५१ जना बिमितहरूमा कोरोना सङ्क्रमण भएकोमा २० जनाले मात्र बिमा दाबी भुक्तानी रकम प्राप्त गरेका छन् । बिमा रकम नपाएका ३१ जनाले दाबीको माग गरेको १० महिना बितिसक्दा पनि कम्पनीले भुक्तानी दिन नसक्ने बेहोराको पत्र पठाएको थियो ।

इन्स्योरेन्सले जारी गरेको बिमालेख तोकिएको अवधिसम्म कुनै पनि हालतमा खारेज गर्न नसकिने, पीसीआर टेस्ट पोजेटिभ देखिएमा सङ्क्रमित व्यक्तिलाई रु एक लाखसम्मको दाबी भुक्तानी दिने, बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई भुक्तानी गर्ने र बिमितले रीतपूर्वक निवेदन दिएको सात दिनभित्र रकम भुक्तानी दिने सम्झौतामा उल्लेख गरिएको छ । कम्पनीले सात दिनभित्र भुक्तानी दिइसक्नुपर्ने रकम १० महिना बितिसक्दा पनि हालसम्म दिएको छैन । महासङ्घले बिमा रकम भुक्तानी नहुनुको कारण माग गर्दै पत्राचारसमेत गरेको थियो ।

कम्पनी नेपाल सरकारसँग रकम माग गरेको र सरकारले उपलब्ध गराएपछि मात्र भुक्तानी दिनसक्ने बेहोराको पत्र मोरङ शाखालाई जवाफ पठाएको थियो ।रिट निवेदनमा अजोड इन्स्योरेन्ससँग बिमा सम्झौता गर्दा कोरोना मापदण्ड–२०७७ बमोजिम दाबी भुक्तानीका लागि बिमकलाई आदेश निर्देशन दिने तथा नेपाल सरकारसँग समन्वय गरिदिने जिम्मेवारी भएको बिमा समिति, सरकारको नीति एवं प्रतिबद्धताबमोजिम समयमा आवश्यक रकम बन्दोबस्त गरिदिने जिम्मेवारी भएको अर्थ मन्त्रालय र नेपाल सरकार मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ