arrow

आर्थिक मन्दीले बीमा व्यवसायमा असर,  पहुँच नै घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २६ शनिबार
beema-samiti.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आर्थिक मन्दीसँगै बीमा व्यवसायसमेत घटेको छ । नेपालमा सञ्चालित जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीमा आधारित विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा बीमा कम्पनीहरुको यस्तो अवस्था देखिएको हो । 

जीवनबीमा व्यवसायको तत्कालीन बीमाको अवस्था देखाउने प्रथम बीमा शुल्क यो अवधिमा १.८५ प्रतिशतले घटेको छ । 

अघिल्लो वर्षको माघसम्म १६ अर्ब ४५ करोड संकलन गरेका जीवन बीमा कम्पनीहरुले यो वर्ष १६ र्अ १५ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेका हुन् । 

त्यस्तै चालु आर्थिक वर्ष भन्दा अघि गरिएको बीमाबाट प्राप्त बीमाशुल्क भुक्तानी भने यो अवधिमा ५.७३ प्रतिशतले बढेको छ । 

अघिल्लो वर्ष ६६ अर्ब ९३ करोड रुपैयाँ संकलन गरेका बीमा कम्पनीहरुले यो वर्ष ७० अर्ब ७७ करोड रुपैयाँ वृद्धि गरेका हुन् । 

बीमालेख संख्यामा आएको कमिका कारण यो वर्ष बीमा कम्पनीहरुको आम्दानी घटेको हो । 

बीमा प्राधिकरणको तथ्यांकअनुसार यो वर्ष दीर्घकालीन प्रकृतिको बीमालेख संख्या ३.९१ प्रतिशतले घटेको छ । 

अघिल्लो वर्ष ५७ लाख ३८ हजार रहेको यस्तो संख्या अहिले घटेर ५५ लाख १४ हजारमा झरेको हो । यो कुल जनसंख्याको १७.१२ प्रतिशत हो जुन अघिल्लो वर्ष १७.९० प्रतिशत थियो ।  

दीर्घकालीन बीमा बाहेक यो वर्ष लघुबीमाको संख्यामा पनि उल्लेख्य रुपमा कमी आएको छ । यो अवधिमा म्यादी जीवनबीमाको संख्या ११.८३ प्रतिशतले घटेर ६३ लाखमा झरेको छ । 

अघिल्लो वर्ष यस्तो संख्या ७१ लाख थियो । योसहित गर्दा नेपालमा बीमाको पहुँच ३६.७२ प्रतिशत पुगेको छ जुन अघिल्लो वर्ष ४०.२३ प्रतिशत थियो । 

वैदेशिक रोजगारीमा जानेहरुले गर्ने वैदेशिक रोजगार जीवनबीमा भने यो वर्ष बढेर ४४.५० प्रतिशतले बढेको छ । सात महिनाको अवधिमा १९ लाख ६५ हजारले यस्तो बीमालेख खरिद गरेका छन् । 

अघिल्लो वर्ष यो संख्या करिब १३ लाख ६० हजार रहेको थियो । वैदेशिक रोजगारमा जाने सहितको जोड्दा कुल बीमा पहुँच ४३.१४ प्रतिशत पुगेको छ जुन अघिल्लो वर्ष ४४.७० प्रतिशत थियो । 

उता निर्जीवन बीमातर्फ यो अवधिको बीमा व्यवसाय २.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष माघसम्म २३ अर्ब भन्दा बढीको बीमा व्यवसाय गरेका बीमा कम्पनीहरुले यो वर्ष २२ अर्ब ४६ करोड रुपैयाँ बराबरको मात्रै बीमा गर्न सकेका हुन् । 

ती कम्पनीहरुसँग यो अवधिमा १७ लाख २ हजार वटा बीमालेख क्रियाशील छन् । यस अन्तर्गत १० लाख ४ हजार मोटरबीमा, २ लाख ९५ हजार सम्पत्ति बीमा, ११ लाख ६९ हजार वटा सामुद्रिक बीमा तथा ८४ हजार वटा कृषि बीमाका बीमालेखहरु क्रियाशील छन् । 

हाल नेपालमा १४ वटा जीवनबीमा कम्पनी र ३ वटा लघु जीवनबीमा कम्पनी रहेका छन् । 

त्यस्तै १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा नै निर्जीवन लघुबीमा कम्पनीसमेत अहिले अस्तित्वमा रहेका छन् । 

बीमा कम्पनीहरुले राष्ट्रिय स्तरमा तथा लघुबीमा कम्पनीहरुले प्रादेशिक स्तरमा रहेर बीमा कारोबार गर्दै आएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ