- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले एक हप्ताभित्र कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको ४४ लाख डोज (मात्रा) भित्र्याउने तयारी गरेको छ । चीन सरकारसँग गरेको खरिद सम्झौता अन्तर्गत सरकारले ७ दिनसम्ममा ४४ लाख डोज खोप भित्र्याउने तयारी गरेको हो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाका डा.उपेन्द्र ढुङ्गानाले एक हप्ता भित्र ४४ लाख मात्रा खोप भित्र्याउने तयारी भएको बताएका हुन् ।
उनले भने,'ठ्याक्कै मिति तय भइसकेको छैन, एक हप्ता भित्र भेरोसेल खोपको ४४ लाख मात्रा भित्र्याउने तयारी भएको छ ।' हालसम्म नेपालमा एस्ट्राजेनेका, भेरोसेल र जान्सेन खोपको १ करोड ३० लाख भन्दा बढी मात्रा भित्रिएको छ ।
स्वास्थ्य मन्त्रालयले चैतसम्म साढे पाँच करोड डोज खोप भित्र्याउने लक्ष्य राखेको छ । यसमध्ये दसैँसम्म २ करोड ५ लाख डोज खोप भित्रिसक्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् ।
नेपालमा २ करोड १७ लाख १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाउने सरकारको लक्ष्य छ । लक्ष्यको झन्डै १८ प्रतिशतले पूर्ण खोप लगाइ सकेका छन् ।
सरकारले फागुनसम्ममा १८ वर्षमुनिका बालबालिकाका लागि १ करोड डोज फाइजर र मोडर्नाको खोप भित्र्याउने तयारी गरेको छ ।
यस्तै बालबालिकाका लागि ४० लाख डोज मोडर्नाको खोप खरिदका लागि भुक्तानी समेत भइसकेको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बताएका छन् ।