arrow

महिला उम्मेदवारको पिडा : ‘महिला नेतृत्वमा आउन महिला नै बाधक’

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
saraswati-syangja.JPG
वडा सभापतिको उम्मेदवार बनेकी महिला नेतृ सरस्वती बगालेले मतदान गर्दै, तस्बिर : श्रीकृष्ण सिग्देल-स्याङ्जा

स्याङ्जा । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट स्याङ्जामा एक जना मात्रै महिला वडा सभापति बन्न सफल भएकी छन् । ९७ वडा रहेको स्याङ्जामा दुई ओटा वडामा मात्रै महिलाहरूले नेतृत्व दाबी गरेका थिए । 

दुई वडा मध्ये फेदिखोला गाउँपालिका ५ मा माया पनेरु सर्व सहमतिबाट वडा सभापति बन्न सफल भएकी छन् भने अर्का वालिङ नगरपालिका वडा नम्बर ८ मा पराजित हुन पुगेकी छन् । वडा सभापतिमा पराजित भोगेकी महिलाले सामाजिक सञ्जाल मार्फत कारुणिक भावना पोखेकी छन् । 

स्याङ्जा जिल्लाकै सबै भन्दा बढी क्रियाशील सदस्य रहेको वालिङ नगरपालिका ८ को वडा सभापतिमा उम्मेदवार दिएकी सरस्वती बगालेले महिला नेतृत्वमा आउन महिला नै बाधक हुने गरेको घुमाउरो टिप्पणी सामाजिक सञ्जाल मार्फत पोखेकी छन् । भदौ १८ गते सुरु भएको वडा अधिवेशनमा वालिङ ८ मा ५ जनाले वडा सभापतिमा उम्मेदवारी दिएका थिए । ५ जना मध्ये एक जना मात्रै महिला उम्मेदवार थिइन् भने ४ जना पुरुष नै थिए । 

सभापतिमा सरस्वती बगाले, कमलप्रसाद सुवेदी, छविलाल कुँवर, रेशमलाल कोइराला र कृष्णप्रसाद कोइराला बिचको दावेदारी सहित उम्मेदवारी दर्ता भएको थियो । दुई कोइराला र कुँवरले सहमतिको प्रणाली अवलम्बन गर्दै उम्मेदवारी फिर्ता लिएपछि दुई जना बगाले र सुवेदीको मात्रै उम्मेदवारी रहन पुग्यो । सहमतिको प्रयास नभएपछि लोकतान्त्रिक अभ्यास अनुसार निर्वाचन भएको थियो । 

८ सय २ मतदाता रहेको वडामा ५ सय ६० मत खसेको थियो । जस मध्ये ३ सय ३४ मत ल्याएर सुवेदी वडा सभापतिमा विजयी भए । वडाको निर्वाचनमा निकै गुटगत र पार्टीको निर्वाचन भन्दा पनि व्यक्तिवादीको जस्तो निर्वाचनले अत्यन्तै निरासाजन बनाएको मतदानमा सहभागी काँग्रेसका क्रियाशील सदस्यले बताएका थिए । वडा सभापतिमा पराजित भएपछि महिला नेतृ बगालेले सामाजिक सञ्जालमा भावुक स्ट्याटस लेखेपछि तरङ्ग छाएको छ । उनले घुमाउरो रूपले टिप्पणी गर्दै महिला नेतृत्वलाई आरोप लगाएकी छन् । 

उनले लेखेको टिप्पणीमा ‘महिलाहरू खाली आरक्षण मात्रै खोज्छन् भन्ने चुनौती दिन वडाको पार्टी सङ्गठन हाँक्न सक्छु भनेर हिम्मत गरेर वडा सभापति उम्मेदवार बन्ने प्रयासलाई हौसला दिनुको साटो महिला नेतृहरू नै खुलारुपमा महिला उम्मेदवारलाई सहयोग गर्न नदेखिनुले महिलाहरूको मुद्धामाथी कत्तिको आवाज उठाइएको छ भन्ने प्रस्ट यो निर्वाचनले देखाएको छ ।’ उल्लेख गरेकी छन् ।

 काँग्रेसको जग भनेको वडा भएको उल्लेख गर्दै बगालेले सामाजिक सञ्जालमा सोही वडालाई आधार मानेर महिला सङ्घको केन्द्रीय उपाध्यक्ष, जिल्ला अध्यक्ष र नगर अध्यक्षलाई महिलालाई नेतृत्वमा आउन हौसला प्रदान नगरेको सङ्केत गरेकी छन् । आफ्नो पनि केही कमजोरी रहेको होला भन्ने प्रश्न गर्दै महिला नेतृ बगालेले गम्भीर सुझाव नपाएको आरोप पनि लगाएकी छन् । तिनै जना महिला नेतृहरू सोही वडाका हुन् । 

सभापतिमा पराजित भएकी वगालेको वडामा नेपाल महिला सङ्घको केन्द्रीय उपाध्यक्षमा सरस्वती अर्याल तिवारी, महिला सङ्घ स्याङ्जाको अध्यक्षमा कल्पना तिवारी र महिला सङ्घको नगर अध्यक्षमा सरिता पौडेल लम्साल रहेका छन् । वगालेको सामाजिक सञ्जालमा गरेको टिप्पणी यिनै महिला नेतृहरू प्रति लक्षित भएको देखिन्छ । उनले लेखेको सामाजिक सञ्जालको टिप्पणीमा भने महिला नेतृहरूको नाम खुलाएकी छैनन् । महिलाहरूलाई नेतृत्वमा ल्याउन महिलाहरू नै बाधक भएको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ