arrow

गाँठो फुटाउन सत्ता गठबन्धनको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg
तस्वीर–फाइल ।

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरुबीचको गाँठो फुटाउन आइतबार बिहान बैठक बस्दैछ । सत्ता साझेदार दलहरुबीचको गठबन्धनको बैठक आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । 

केही दिनदेखि दैनिकजसो बैठक बस्दै आएको छ । तर गाँठो भने फुक्न सकेको छैन । नेताहरुका क्रियाकलापले भने गाँठो झन् कसिँदै गएको देखिएको छ । 

गत असार २९ गते प्रधानमन्त्रीको जिम्मा पाएका नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । 

दलहरुबीचको आन्तरिक किचलोसँगै दलहरुबीच नै तालमेल मिल्न नसकेका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । देउवाले शपथको दिन नै आफूसहित पाँच मन्त्री (कांग्रेसका दुई – बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका दुई – जनार्दन शर्मा र पम्फा भुषाल) लाई समेटेका थिए । बीचमा धेरै नै आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि देउवाले मन्त्री थप्न सकेका छैनन् । 

माओवादीमा आकांक्षी धेरै छैन । कांग्रेसभित्रै रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षलाई भाग लगाउनु पर्नेछ । नयाँ पार्टी नेकपा एकीकृत समाजवादीले अहिलेस्म्म मन्त्री बन्नेको नाम छान्न सकेको छैन । त्यस्तै उपेन्द्र यादवको जनता समाजवादी पार्टीले पनि नाम दिन सकेको छैन । 

सत्ता कसरी संचालन गर्ने भन्नेमै गठबन्धन दलका नेताहरु अन्योलमा छन् । सत्ता गठबन्धनलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले भने सत्तामा नजाने बताइसकेको छ । 

आइतबारको बैठकमा यी विषयसँगसँगै अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा पनि छलफल हुनेछ । एमसीसीमा सत्ता गठबन्धन दलले निर्णय गर्न सकेका छैनन् । 

कांग्रेस र जसपाले एमसीसीको समर्थन गरेको बुझिन्छ भने माओवादी र समाजवादी विरोधमा छन् । यही विरोध र समर्थनबीच पहिले संसदमा पारितका लागि दर्तासमेत गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने ‘पर्ख र हेर’ को रणनीति बनाएको छ । 

एमसीसी संसदबाट पारित गर्न दवाव दिन एमसीसीकी उपाध्यक्षको टोली गत बिहीबार काठमाडौं आएको छ । चार दिने भ्रमण सकेर आइतबार जाँदै गर्दा निष्कर्ष भने अहिलेसम्म आउन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ