arrow
ADVERTISEMENT

एमसीसी पास गर्न फातिमाले दिइन यस्तो दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २८ सोमबार
mcc-fatima-sumar-vp.jpg
फाइल तस्विर

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विपक्षमा मुलुकका कम्युनिष्ट पार्टीहरू उभिएपछि त्यसलाई सहजीकरण गर्न आएकी उपाध्यक्ष फातिमा सुमारले पत्रकार सम्मेलन गरी सो सम्झौता नेपालको संसद्बाट अनुमोदन हुन ढिलो भइसकेको बताएर गएकी छिन् । अमेरिका फर्कनुअघि आइतबार काठमाडौंमा पत्रकारहरूसँग एमसिसी उपाध्यक्ष फतिमा सुमारले नेपालको संसद्बाट सम्झौता अनुमोदन हुन ढिलो भएको उल्लेख गर्दै चाडै गर्दा राम्रो हुने धारणा राखेकी थिइन । 

नेपालमा कम्युनिष्ट पार्टीहरू सहित केही राजनीतिक समूहले एमसीसी सम्झौताको विरोध गरिरहेका बेला फतिमा बिहीबार बिहान काठमाडौ आएकी थिइन् । फतिमा र उनको टोली नेपाल आए लगत्तै प्रमुख प्रतिपक्षी दलका नेता पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी थिइन् । उनी आएपछि नेपालमा विरोध प्रदर्शन थप तीव्र भयो । तर, विरोध प्रदर्शनहरूको परवाह नगरी फतिमाको टोलीले राजनीतिक भेटघाटलाई निरन्तरता दिँदै नेपालस्थित एमसीसीका प्रतिनीधिहरूसँग पनि छलफल गरेकी थिइन । 

शनिवार दिउसो भएको छलफलमा उनले नेपालमा रहेका प्रतिनीधिहरू कै कारण एमसीसीको विरोध भएको र त्यसलाई चिर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन । एमसीसी नेपाल सञ्चालक समितिका अध्यक्ष अर्थ मन्त्रालयका सचिव मधु मरासिनी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव मधुप्रसाद भेटवाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वैदेशिक सहयोग महाशाखाका सह–सचिव केशव शर्मा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेशनल हाइड्रोपावर कम्पनीका कार्यकारी अध्यक्ष, जलविद्युत् उत्पादकहरू, बैङ्कहरू, गैससहरू तथा अन्तरराष्ट्रिय गैससहरूका स्वतन्त्र परामर्शदाता कुमार पाण्डे, सदस्य सचिव एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट, पूर्व प्रधानमन्त्री केपी ओलीका प्रमुख सल्लाहकार गोपाल खनालसहितको टोलीसँग छलफल गर्दे उपाध्यक्ष फातिमाले 'अमेरिकालाई चिढ्याउन खोजेको हो ?' भनेर प्रश्न गरेकी थिइन । उनले एमसीसी अमेरिका आफैले दिन नखोजेको त्यति बेलाको सरकारले माग गरेको परियोजना भएकाले त्यसमा नेपालका राजनीतिक दललाई किन बुझाउन नसकेको भन्दै नेपालस्थित एमसीसीका सञ्चालकहरूसँग असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ ।

फातिमाले यो परियोजना सामान्य नभएको र यसले वैदेशिक लगानी र वैदेशिक सहयोगमा आँच पुग्न सक्ने तथा ऋण र सहयोग समेत रोकिन सक्ने सङ्केत गरेकी थिइन । ‘एमसीसी अमेरिकाले पुर्‍याउन आएको थिएन जति बेला नेपाल सरकारले सम्झौता गर्‍यो ती सबै सर्त मानेर सम्झौता गरेको हो अहिले अमेरिकालाई दोष दिएर विरोध गरिँदै छ त्यो नितान्त गलत छ जुन कुरा नेपालमा रहेका प्रतिनीधिहरुले चिर्न सकेनन्’, फातिमाको भनाई उदृित गर्दै  छलफलका सहभागी एक प्रतिनिधिले भने । उनका अनुसार अमेरिकाले यो विषयलाई निकै गम्भीरतापूर्वक लिएको र दीर्घकालीन रूपमा असर पर्ने भनाई राखेको समेत ती सहभागीले बताएका छन् । फातिमासहितको टोलीले नेपालमा रहेका प्रतिनीधिहरूले समय क्रममा भ्रम चिर्न नसकेको गुनासो थियो । 

फातिमा आएकै दिन उनको टोलीले बालकोट पुगेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको थियो । चार दिनको काठमाडौं बसाइमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँगको भेटवार्ता गरेर उनले भ्रम चिर्ने कोसिस गरेकी थिइन । ‘एमसिसी कम्प्याक्ट एक परियोजना मात्र नभएर कानुनतः भएको एक सम्झौता हो,’ उनले भनिन्, ‘यसलाई तत्काल संसद्बाट अनुमोदन गरे नेपाललाई फाइदा हुन्छ ।’ तर नेपालमा रहेका कम्युनिष्ट दलहरूले चर्को आलोचना गर्दै आएका छन् । 

‘अमेरिकाको जनताका तर्फबाट नेपाललाई उपहारस्वरूप यो अनुदान दिइएको हो,’ फतिमाले भनिन्, ‘यसले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ, ढुक्क हुनुस् ।’ एमसिसीको पक्षमा राजनीतिक दलहरूलाई सकारात्मक बनाउने उद्देश्यका साथ यहाँ आइपुगेकी फतिमालाई निराशा नै हात लागेपछि उनले सञ्चालक समितिका सदस्यसँग बसेर छलफल गरेकी थिइन । काठमाडौंको भेटघाटमा प्रधानमन्त्री देउवाबाहेक उनले अन्य कुनै नेताबाट एमसीसी तत्काल सदनबाट अनुमोदन हुने सङ्केत पाउन सकेकी थिइनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ