arrow

मनसुन सकिन अझै एक साता बाँकी, वर्षा जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
monsoon-weather-cloud-rain.jpg

काठमाडौं । मनसुन सकिन अझै एक हप्ता बाँकी छ । सेप्टेम्बर २३ तारिख (असोज ७ गते) सम्म मनसुन रहने गर्छ । मनसुन सकिँदै गरे पनि वर्षाको क्रम भने रोकिएको छैन । दैनिकजसो देशका विभिन्न स्थानमा वर्षा भइरहेकै छ ।

यो क्रम अझै जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको पूर्वानुमान बुलेटिन जारी गर्दै शुक्रबारसम्मै वर्षा हुने जनाएको छ । महाशाखाले देशभर बुधबार सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । 

नेपालमा भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका साथै मनसुन न्यूनचापीय रेखा औषत स्थानभन्दा दक्षिणतर्फ रहेकाले मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । 

मौसमविद् गङ्गा नगरकोटीले उक्त प्रणालीको प्रभावका कारण अबका तीन दिन देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइन् । 

हाल देशभर सामान्यदेखि पूर्ण बदलीसहित प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९.५ डिग्री र अधिकतम तापक्रम २८.२ दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२.८ डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३५.८ डिग्री सेल्सियस रहेको छ ।

उपत्यकामा रातिदेखि नै वर्षा भएको थियो । बिहान पनि वर्षा भएको थियो । दिनभरि नै घाम लाग्ने सम्भावना नरहेको बताइन्छ । 

कहाँ कति पानी ? 
पछिल्लो २४ घण्टामा काठमााडैंमा २.५ मिलिमिटर वर्षा भयो । धनकुटामा १८.४, धनगढीमा १४.२, ओखलढुङ्गमा ७.३, वीरेन्द्रनगरमा ६.५, विराटनगरमा ५.६, पोखरामा ३, नेपालगञ्जमा २.४ तथा सिमरामा १ मिलिमिटर वर्षा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ