- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमा मर्चेन्टको सङ्ख्या ५ लाख पुगेको छ। स्थापनाको दुई वर्षमै फोनपेमा मर्चेन्टको सङ्ख्या ५ लाख नाघेको हो। कम्पनीले सेवा सुरु गर्ने बित्तिकै कोभिड महामारीका कारण लामो समय लकडाउनमा बस्नुपरे पनि विभिन्न बैङ्क तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको सङ्ख्या बढाउन सफल भएको हो।
हाल फोनपेको क्युआर मार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोड भन्दा माथिको कारोबार हुँदै आएको छ। यस्तै अन्तर बैङ्क रकम ट्रान्स्फर, फोनपे डाइरेक्ट गरी दैनिक एक अर्ब रुपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ। फोन पे बैङ्किङ र मर्चेन्ट विस्तारको हिसाबले नेपालका सात वटै प्रदेशमा पुगिसकेको छ। ६० प्रतिशत मर्चेन्ट प्रदेश नं-३ मा रहेका छन् भने बाँकी ४० प्रतिशत मर्चेन्ट अन्य प्रदेशमा फैलिएका छन्।
फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो जसले ग्राहक, बैङ्क तथा वित्तीय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ। फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुँचमा पुर्याएर मोबाइल बैङ्किङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ।
फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आबद्ध छन् भने ५ लाख मर्चेन्ट रहेका छन्। एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैङ्किङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ।
फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’पिसिआई डिएसएस भि थ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था हो।