arrow

कोरोनाविरुद्धको भेरोसेल खोप

यी जिल्लामा असोज १४ सम्म सबैले भेरोसेल खोप लगाउन पाउने

थाहा पाउनुहोस् तपाईको जिल्लाको लक्षित समूह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
verocell-vaccine-china1623314936.jpg

काठमाडौं । सरकारले सोमबार अर्थात् असोज ४ गतेदेखि कोरोना भाइरस विरुद्धको भेरोसेल खोप अभियान शुरु गरेको छ । देशभर नै भेरोसेल खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाउन शुरु गरिएको हो । यो खोप अभियान असोज १४ गतेसम्म सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यद्यपि, स्थानीय तह अनुसार मिति फरक समेत पर्न सक्ने देखिन्छ । यसअघि भेरोसेलको पहिलो मात्रा लगाइसकेकाहरुले यो खोप अभियानमा दोस्रो मात्रा लगाउन सक्ने छन् । यस्तै विभिन्न जिल्ला अनुसारका लक्षित समूहले पहिलो मात्रा लगाउन सक्ने छन् ।

कुन जिल्लामा कुन समुह छ लक्षित ?
देशका १० जिल्लामा अब १८ वर्षभन्दा माथिका जो सुकै नागरिकले खोप केन्द्रमा गएर कोरोना भाइरस विरुद्धको खोप लगाउन सक्ने भएका छन् । ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलाजिल्लामा १८ वर्षभन्दा माथिका खोप लगाउन छुटेका सबै नागरिकले खोप लगाउन पाउने भएका हुन् ।

यस्तै दुई जिल्ला काभ्रे र चितवनमा ३५ वर्षमाथिका खोप लगाउन छुटेका नागरिक र १८ वर्षभन्दा माथिका विद्यार्थीहरुले खोप लगाउन पाउने भएका छन् । 

सात जिल्लामा ४० वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिक र १८ वर्षमाथिका विद्यार्थीहरुले खोप लगाउन पाउने भएका छन् । यी सात जिल्लाहरु काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाम हुन् ।

यस्तै अन्य ५८ जिल्लाहरुमा ४५ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीहरुलाई खोप लगाउन पाउने छन् । स्वास्थ्य मन्त्रालयले मनाङ, मुस्ताङ र रुकुमपूर्वका हकमा भने लक्षित समूह तोकेको छैन ।

यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपङ्ति एवं अत्यावश्यक सेवा क्षेत्रका कर्मचारीहरुले खोप लगाउन पाउने छन् । खोप लगाउन आफ्नो परिचय खुल्ने कागज पत्र बोकेर खोप केन्द्रमा जानु पर्नेछ । परिचय पत्र नभएको अवस्थामा स्थानीय तहको सिफारिस लगेर खोप लगाउन सकिने छ ।

कोभिशिल्ड र एस्ट्राजेनेकाको पहिलो मात्रा लगाएकाहरुले भने भेरोसेलको दोस्रो मात्रा लगाउन हुँदैन । 

सरकारले यही असोजभित्र ३३ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने लक्ष्य अनुरुप हालका दिनमा द्रुत गतिमा खोप लगाउने अभियान चलिरहेको छ । 

गतहप्ता मात्र नेपालले चीनबाट एकैपटक ४४ लाख डोज भेरोसेल खोप ल्याएको थियो । 

असोज ४ देखि १४ गतेसम्म पहिलो डोज लगाएकाहरुका लागि आगामी कार्तिक ४ देखि १४ गतेसम्म दोस्रो डोज खोप लगाउने समय छुट्टाइएको छ । 



नयाँ