arrow

चाइना स्टेट कर्पोरेशनले जिम्मा लिएको निर्माण कार्य प्रभावकारी भएन्, टालटुलमै समय सकिन लाग्यो

logo
सन्जय भट्टराई
प्रकाशित २०७८ असोज ५ मंगलबार
road.jpg

कावासोती । पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक बिस्तारको ठेक्काको समयसीमा सकिने बेलासम्म पनि निर्माणको जिम्मा पाएको चाईना स्टेट कर्पोरेशनले प्रभावकारी रुपमा काम गर्न नसकेको पाइएको छ । कर्पोरेशन भत्किएको सडक टालटुलमै समय विताइरहेको छ ।

आयोजनाको खण्ड १ मा पर्ने गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर सडक पर्छ तर ६५ किलोमिटर सडक मध्ये मुस्किलले १२ देखि १५ किलोमिटर सडक मात्रै सवारी गुडाउन लायकको छ । सडक भत्किएर खाल्डाखुल्डी भएपछि आवतजावतमै समस्या आएको भन्दै व्यापक गुनासो आएपछि सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट कर्पोरेशनले अहिलेसम्म सडकको खाल्डाखुल्डी पुर्ने र मर्मतको काम मात्र गरेर बसेको हो ।

नारायणघाट-बुटवल सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले दशैं अगाडी नै खाल्डा पुर्ने र मर्मतको काम सम्पन्न हुनेगरि कामलाई तिब्रता दिईएको बताए । ‘दशैं अगाडीनै खाल्डा पुर्ने र मर्मतको काम सम्पन्न हुन्छ, साथै मनसुन सकिन साथ सडक बिस्तारको कामले पनि गति लिन्छ,’ आचार्यले भने । आर्चायका अनुसार मनसुन सकिए लगत्तै सडक बिस्तार सँगसँगै आयोजना भित्र पर्ने बिजुलीका पोलहरु समेत सार्ने गरि तयारी अगाडी बढाईएको छ ।

निर्माण कम्पनीका यस अघिका कन्ट्रयाक्ट म्यानेजरले आयोजना र सरकारी निकायलाई नटेरेको भन्दै व्यापक गुनासो आएपछि चाईना स्टेट कर्पोरेशनले पहिलेका कन्ट्रयाक्ट म्यानेजर हटाएर नयाँ कन्ट्रयाक्ट म्यानेजर पठाएको र नयाँ कन्ट्रयाक्ट म्यानेजरले आयोजना र सरकारी निकायसँग समन्वय गरेर काम गरेको आचार्यले बताए ।

‘अहिलेका कन्ट्रयाक्ट म्यानेजरले आयोजना र सरकारी निकायसँग समन्वय गरेर मर्मत सँगसँगै सडक बिस्तारको काम अगाडी बढाएको हामीले पाएका छौं, अब काम निरन्तर अगाडी बढछ,’ आचार्यले भने । चाईना स्टेट कर्पोरेशनले गैंडाकोटको नारायणी नदी पुलदेखि बुटवल सम्म ११५ किलो मिटर सडक बस्ती क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा ४ लेन दाउन्नेमा ३ लेन बिस्तार गर्ने गरि १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँको लागतमा सम्पन्न गर्ने गरि ठेक्का पाएको थियो ।

साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएपछि २०७५ चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । तर सडक बिस्तारको शिलान्यास भएको ३० महिनाको अवधीमा मात्रै ८.५ प्रतिशत काम सकिदा आयोजना भने समयमै नसकिने प्रस्ट देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ