- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। बागमती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा नवीकरणको शुल्क इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ। बागमती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नवीकरण अनलाइनबाटै गर्न सकिने सेवाको सुरुवात भएको हो।
यो सँगै अब सवारी साधनको कर तिर्न, सवारी दर्ता तथा नवीकरण तथा इन्स्योरेन्स्को भुक्तानी गर्न यातायात कार्यालयमा गई लामो लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिलेको छ। दुई पाङ्ग्रे, चार पाङ्ग्रे, ठुला तथा हेवी सवारी, निजी तथा सार्वजनिक कुनै पनि किसिमका सवारी साधनको कर, दर्ता र नवीकरण इसेवाबाटै गर्न सकिने कम्पनीले जनाएको छ।
इसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाइलबाटै कर भुक्तानी, दर्ता र नवीकरण गर्न सकिन्छ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकको इसेवा जोन तथा पोइन्टबाट सेवा लिन सकिन्छ।
सवारी करको सेवा सुरूवातबारे इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले भने ‘इसेवाले जहिले पनि आम मानिसको दैनिक जीवनलाई सहज बनाउने उद्देश्य राखेको हुन्छ। सवारी कर अनलाइनबाट भुक्तानी गर्दा धेरै सहज हुनेछ भन्ने हाम्रो विश्वास छ। हामीले अन्य प्रदेशमा पनि यो सेवा विस्तार गर्दै जानेछौँ।’
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको सङ्ख्या करिब ४५ लाख रहेको छ। यसै गरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसङ्ख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब एक लाख ३० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छ । हाल इसेवामा मर्चेन्टको सङ्ख्या तीन लाख नाघिसकेका छन्।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ।
इसेवामा हाल ५० वटा बैङ्क तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैङ्कबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैङ्क खातामा रकम पठाउन सकिन्छ।