- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतले अक्टोबर दोस्रो सातादेखि कोरोना भाइरसविरुद्धको खोप निर्यात खुला गर्ने भएको छ । गत अप्रिल देखि भारतले कोभिड-१९विरुद्धको खोप निर्यातमा रोक लगाएको थियो ।
सोमबार रिपोर्टरहरूसँग बोल्दै भारतीय स्वास्थ्य मन्त्री मनसुख माण्डवियाले भारतले अक्टोबरदेखि खोप निर्यात खुलाउने बताएका हुन् ।
'भारतले अक्टोबरमा ३० करोड डोज भन्दा बढी खोप उत्पादन गर्ने' अनुमान गर्दै उनले 'अन्य देशहरूलाई पनि कोभ्याक्स सुविधा अन्तर्गत सहयोग गर्ने' बताएका छन् ।
भारतले खोप निर्यात खुला गर्ने भएसँगै नेपालले यसअघि नै भुक्तानी गरिसकेको १० लाख डोज खोप आउने भएको छ । अक्टोबर महिनामै १० लाख डोज कोभिसिल्ड खोप आउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत असारमा भारतले १० लाख डोज खोप उपलब्ध गराउन नसक्दा १० लाख भन्दा बढी नेपाली नागरिकले समयमै दोस्रो मात्रा लगाउन पाएका थिएनन् । भारतले अहिले आफ्नो देशभित्रको स्थिति सहज भएपछि खोप निर्यात खुला गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले अक्टोबरमा भारतबाट खोप आउने सम्भावना रहेको बताए । मन्त्रालयका प्रवक्ता डा. पौडेलले हाम्रा कुरासँग भने, 'मिति तय भइसकेको छैन, तर खोप आउने तयारी छ ।'
यस्तै भारतले कोभ्याक्स सुविधा अन्तर्गतबाट पनि खोप निर्यात गर्ने भएसँगै नेपालले कोभ्याक्स सुविधाबाट पनि थप खोप पाउने सम्भावना देखिएको छ । यसअघि नेपालले काेभ्याक्स सुविधाबाट करिब साढे ३ लाख डोज खोप पाएको छ ।
गत फागुनमा स्वास्थ्य मन्त्रालयले भारतको सेरौँ इन्स्ट्युटबाट २० लाख डोज काेभिसिल्ड खोप खरिद गर्ने सम्झौता गरी भुक्तानीसमेत गरेको थियो ।
सो अनुसार १० लाख डोज कोभिसिल्ड खोप गत फागुन ८ गते नै काठमाडौँ आइपुगेको थियो । तर, भारतमा संक्रमण बढ्दै जाँदा भारतले खोप निर्यातमै रोक लगाएर देशभित्रको खोप अभियान तीव्र बनाएको थियो ।
त्यसअघि भारतले नेपाललाई अनुदान स्वरूप १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको थियो ।