arrow

सम्झौता भन्दा ७ महिना अघि नै रसुवा निर्माण कम्पनीद्वारा सरकारलाई तीन वटा पुल हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ९ शनिबार
aurahi-river-bridge-1.jpg

धनुषा। ठेक्का सम्झौता अवधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका बेला धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा रसुवा कन्स्ट्रक्सनले सात महिना अगाडी नै तीन वटा पुल निर्माण गरेको छ। ढल्केवर जनकपुर जटही सडक खण्डमा रसुवा निर्माण कम्पनीले सम्झौता अवधि सकिन सात महिना बाँकी रहँदै  तीन वटा पुल निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको हो।

ढल्केवर जनकपुर जटही सडकलाई ६ लेनको सडकमा स्तरोन्नति गरेपछि धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा सरकारले ६ लेनको सडकलाई मिल्ने गरी तीन वटा पुल निर्माण गरेको हो। सडक विस्तार भएदेखि सवारी साधनको चाँप बढेको र भएको पुरानो पुलबाट आउजाउ गर्न समस्या भइरहेका बेला एकै चोटि तीन तीन वटा पुल बनेपछि सवारी साधनलाई आउजाउ गर्न सहज भएको स्थानीय वासीहरू बताउँछन्।

सरकारसँग भएको सम्झौता अनुसार २०७८ चैत्र मसान्तमा तीन वटै पुल हस्तान्तरण गर्नुपर्ने थियो। तर, काम सम्पन्न हुनुपर्ने मिति भन्दा सात महिना अगाडि नै  ७७ करोड २७ लाखको लागतमा पुल निर्माणको काम सम्पन्न भएको हो। नेपाल सरकार र रसुवा कन्स्ट्रक्सन बीच २०७६ असोज ३० गते सम्झौता भई  मङ्सिरदेखि काम सुरु भएका तीन वटै पुल सवारी साधनका लागि खुला गरिएको छ।

औरही खोलामा ठेकेदारले सात महिना अगाडि तीन वटा पुल निर्माण गरेर हस्तान्तरण गरे पनि ढल्केवर जटहीमा ६ लेनकै सडकको सपही र नक्टाझिज स्थित खहरे खोलामा एकै दिन सम्झौता भएको अर्को निर्माण कम्पनीले जग निर्माण गरेर पुलको बाँकी काम अधुरै छाडेको छ।

औरही खोलामा निर्माण सम्पन्न तीन वटा पुलमध्ये दुई वटा पुल ६ लेन सडकका लागि हुन् भने एउटा पुललाई सर्विस लेनको रूपमा राखिएको छ। पुलको लम्बाई १ सय ४३ दशमलव ५ मिटर र चौडाइ ११ दशमलव ६ मिटर छ।

यस अधि पनि दर्जनौँ स्थानमा रसुवा कन्स्ट्रक्सनले ठेक्का सम्झौता अवधि भन्दा अगावै निर्माण सम्पन्न गरी सकारलाई आयोजना हस्तान्तरण गरिसकेको छ। जस बापत स्थानीय सरकार र सङ्घ संस्थाहरूबाट रसुवा कन्स्ट्रक्सनलाई अभिनन्दन समेत गरेका समाचारहरू आइरहेका छन्।

व्यावसायिक दक्षता र जिम्मेवारी बोधका कारण आफ्नो कम्पनीले सबै ठाउँमा ठेक्का सम्झौता अवधि भन्दा अगावै निर्माण सम्पन्न गर्ने गरेको भनाई रसुवा कन्स्ट्रक्सन कम्पनीका अध्यक्ष राजेन्द्रराज आचार्य बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ