- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकामा खुलेका हाइड्रोपावर कम्पनीहरुप्रति स्थानीय प्रभावितहरु आक्रोशित बनेका छन् ।
गौरीशंकर गाउँपालिका ६ र ७ मा रहेका ग्रीन लाइफ हाइड्रो, सासा इनर्जी हाइड्रो पावर, घट्टेखोला हाइड्रो (मनकामना) र युनिभर्सल हाइड्रोले स्थानीय प्रभावितहरुसँग गरेको सहमति वर्षौं बित्दासमेत कार्यान्वयन नगरेको भन्दै आक्रोशित बनेका हुन् ।
ति हाइड्रोहरुले अहिलेसम्म कतिपय प्रभावित स्थानीयहरुलाई जग्गाको मुआब्जासमेत दिएका छैनन् । २०७२ मा संघर्ष समिति गठन गरेर आफ्ना मागहरु राख्दासमेत सहमती गर्ने तर कार्यान्वयन नगर्ने गरेको भन्दै स्थानीय प्रभावितहरु आक्रोशित बनेका हुन् । यस्तै हाइड्रोका कारण सडक संरचना क्षतविक्षत भएको उनीहरुको गुनासो छ ।
स्थानीय फुर लाक्पा शेर्पाले २०७२ बैशाख ११ गते हाइड्रो कम्पनी र स्थानीय प्रसासनबीच जिल्ला प्रसासन कार्यालय दोलखामा प्रभावित स्थानीयका मागका विषयमा १८ बुँदे सहमति भएको भएपनि ६ वर्ष बित्दासमेत स्थानीयको समस्या समाधानमा हाइड्रो कम्पनीहरुले ध्यान नदिएको बताए ।
‘हाइड्रोका तर्फबाट स्थानीयसँग पेटी कन्ट्याक भएको होे, जग्गाको मुआब्जा दिने, सडक बनाइदिने, स्थानीयलाई रोजगारी दिने, सेयर उपलब्ध गराउने लगायतका १८ बुँदे सहमती भएकोमा अहिलेसम्म एम्बुलेन्स दिने बाहेक केही भएन, प्रभावितहरुलाई झन पीडा दिने काम भयो,’ शेर्पाले हाम्राकुरासँग भने ।
ति चार हाइड्रोका कारण कतिपय बस्तीसमेत जोखिममा रहेको अर्का स्थानीय निमा साङ्गे शेर्पाले जानकारी दिए । ‘वस्ती जोखिममा छ, हाइड्रोका कारण त्यसको असर हामीले भोग्नु परेको छ, सडक हिलाम्य छ, बाढी र पहिरोको समस्या बढेको छ, वायू प्रदुषण बढेको छ, हामीलाई अन्याय भयो,’ उनले भने ।
उनीहरुले दशैंसम्म आफ्ना मागका सम्वन्धमा सुनुवाइ नभए हाइड्रो संचालनमा नै रोक लगाउने चेतावनी दिएका छन् । स्थानीयहरुले गत ४ असोजमा सिंगटीमा भएको छलफलमार्फत हाइड्रो कम्पनीले दुःख दिएको भन्दै दशैसम्म निकास नदिए संचालनमा नै अपरोध गर्ने निर्णय गरेका हुन् ।