- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले लगातार तेस्रो हार बेहोरेको छ । लगातार तेस्रो हारले मुम्बई सातौं स्थानमा झरेको छ ।
आइतबार रातिको खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैंगलोरसँग ५४ रनको हार खान पुग्यो । पहिले ब्याटिङ गरेको बैंगलोरले ६ विकेटको नोक्सानीमा १६५ रन बनायो । कप्तान विराट कोहलीले ४२ बलमा ५१ रन बनाए ।
ग्लेन म्याक्सवेलले ३७ बलमा ५६ रन जोडे । त्यस्तै श्रीकर भारतले २४ बलमा ३२ रन बनाए । मुम्बईका जसप्रित बुमराहले ३ विकेट लिए ।
जवाफमा मुम्बईले १८.१ ओभरमा अलआउट हुँदै १११ रनमात्र बनाउन सक्यो । कप्तान रोहित शर्माले २८ बलमा ४३ रन जोडे पनि टिमलाई जिताउन सकेनन् ।
पहिलो विकेटका लागि ५७ रनको साझेदारी गर्ने क्रममा क्विन्टन डे ककले २४ रन बनाएका थिए । त्यसबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर बनाएनन् ।
बैंगलोरका मार्शल पटेलले ४ तथा युजभेन्द्र चहालले ३ विकेट लिए । अलराउन्डर म्याक्सवेलले २ विकेट लिँदै प्लेयर अफ द म्याच भए ।
यो जितले बैंगलोर १० खेलबाट १२ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ ।
यसअघि आइतबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्स शीर्ष स्थानमा पुग्यो ।
कोलकाताले पहिले ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा १७१ रन बनायो । जवाफमा चेन्नईले ८ विकेटको नोक्सानीमा जित निकाल्यो ।
चेन्नई १० खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ । दिल्ली क्यापिटल्स पनि समान खेलबाट समान अंकसहित दोस्रो स्थानमा छ ।
कोलकाता १० खेलबाट ८ अंकसहित चौथो, पंजाब किंग्स पनि ८ अंकबाट पाँचौं, राजस्थान रोयल्स पनि ८ अंकबाट छैटौं र मुम्बई पनि ८ अंकबाट सातौंमा झरेको छ ।
मुम्बईको हारले आइकन प्लेयर सचिन तेन्दुलकर चिन्तित देखिएका छन् ।
पुछारको सनराइजर्स हैदराबादको मात्र २ अंक छ ।
सोमबार सनराइजर्स हैदराबादले राजस्थानसँग बेलुकी ७ः४५ मा खेल्नेछ । खेल दुबईमा हुनेछ ।