arrow

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने सरकारको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
deuba-cabinet1-2078-03-29.jpg

काठमाडौँ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक दल विभाजन सम्बन्धी सरकारले ल्याएको अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

‘गठबन्धन आबद्ध शीर्ष नेतृत्वमा भएको सहमति अनुसार मन्त्रीपरिषद्ले दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको छ,’ सरकारका एक मन्त्रीले हाम्रा कुरासँग भने ।

ती मन्त्रीका अनुसार सरकार विस्तारका लागि सहज बनाउन अध्यादेश फिर्ता लिएको हो ।

सत्ता गठबन्धन आबद्ध दल जसपाले अध्यादेश फिर्ता नभएसम्म सरकारमा नजाने अडान लिँदै आएको थियो । जसपाको अडानपछि सरकारले सो अध्यादेश फिर्ता लिएको हो ।

१ भदौमा ल्याइएको अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर नयाँ दल खोल्न सक्ने खुकुलो व्यवस्था गरिएको थियो ।

सो अध्यादेश आएपछि माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको थियो ।

अध्यादेश फिर्ता नभई मन्त्रीपरिषद् विस्तार भए असन्तुष्ट नेताहरूले फेरी दल फुटाउने डर बढ्दै गएको थियो । 



नयाँ