- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सनराईजर्स हैदराबादले दोस्रो जित निकालेको छ । दुबईमा सोमबार राति भएको खेलमा हैदराबादले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।
राजस्थानले दिएको १६५ रनको लक्ष्य हैदराबादले १८.३ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा गर्यो । हैदराबादको जितमा डेब्यु खेलाडी एवं प्लेयर अफ द म्याच जासन रोयले ४२ बलमा ६० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै कप्तान केन विलियम्सनले नटआउट रहँदै ४१ बलमा ५१ रन बनाए । राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक एक विकेट लिए ।
राजस्थानको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेटको नोक्सानीमा १६४ रन बनाएको थियो । राजस्थानका लागि कप्तान सन्जु सामसनले ८२ रन बनाएका थिए ।
उनले ५७ बलमा ३ छक्का र ७ चौकाको मद्धतले उक्त योगफल जोडे पनि टिमलाई जिताउन भने सकेनन् ।
याशभी जैसवालले २३ बलमा ३६ रन जोड्दा महिपाल लोम्रोरले २८ बलमा नटआउट रहँदै २९ रन बनाए ।
हैदराबादका सिद्दार्थ कउलले दुई विकेट लिए ।
अंक तालिका
१० खेलबाट दोस्रो जित निकालेको हैदराबाद ४ अंकसहित पुछारमा छ । सातौं स्थानको डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सको १० खेलमा ८ अंक छ ।
१० औं चरणको समाप्तिसम्म शीर्ष स्थानको चेन्नई सुपर किङ्सको १६, दोस्रो दिल्ली क्यापिटल्सको १६, तेस्रो रोयल च्यालेन्जर्स बैंगलोरको १२, तथा बाँकी टिमहरुको ८ अंक छ ।
मंगलबारका खेल
मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो ३ः४५ बजे कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स भिड्ने छन् ।
बेलुकी ७ः४५ बजे मुम्बई र पंजाब किङ्स खेल्नेछन् ।