arrow

बर्दियामा देउवा पक्षमा चार, पौडेल समूहका तीन सभापति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
bardiya-canided.png

नेपालगन्ज ।बर्दियाका आठ वटा पालिका मध्ये सात वटा पालिकामा काँग्रेस अधिवेशन सकिएको छ । १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्दै पालिका अधिवेशन सकिएको हो । मधुवन नगरपालिकाको अधिवेशन भने हुन सकेको छैन । यहाँ वडा नम्बर ३ बाहेक सबै वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । तर, ३ नम्बर वडामा क्रियाशील सदस्यता विवादका कारण निर्वाचन समितिले प्रक्रिया अघि बढाउन नसक्दा पालिका अधिवेशन प्रभावित बनेको हो । 

सात वटा पालिकामा सम्पन्न अधिवेशनमा ४ जना संस्थापन समूह र ३ जना संस्थापन इतर समूहबाट निर्वाचित भएका छन् । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा जिल्लाका दुई प्रभावशाली नेता सञ्जय गौतम र किशोरसिंह राठौरको समूहगत राजनीतिको प्रभाव पालिका अधिवेशनमा पनि परेको छ । केन्द्रमा गौतम रामचन्द्र पौडेल/शशाङ्क कोइराला (संस्थापन इतर) निकट हुन् भने राठौर शेरबहादुर देउवा (संस्थापन) निकट हुन् ।

"यहाँ ६ वटा पालिकामा चुनाव नै भयो, एउटामा निर्विरोध भएको छ, समूहगत प्रतिस्पर्धा नै भएको छ, ४ वटामा राठौर दाइका उम्मेदवारले सभापतिमा जितेका छन्, तीन वटामा सञ्जय दाइले समर्थन गरेका उम्मेदवारले जिते," राजापुर काँग्रेसका युवा नेता धनीराम गिरीले भने । उनले पार्टीभित्रको समूहगत प्रतिस्पर्धामा दुई वटा प्यानल नै बनाएर चुनाव भएको बताए । 

गुलरिया नगरपालिकामा निर्वाचित नगर सभापति इन्द्र कुमार यादव केन्द्रीय सदस्य किशोरसिंह राठोर र मेयर किट्टु यादव निकट हुन् । ठाकुरबाबा नगरपालिकाका सभापति पदमबहादुर खड्का पूर्व मन्त्री तथा सांसद सञ्जय गौतम पक्षका हुन् । त्यस्तै बारबर्दिया नगरपालिकाका सभापति सुरेन्द्रबहादुर बोहरा पनि गौतम निकट हुन् । बाँसगढीका नगर सभापति लोहारी थारु पनि गौतम पक्षकै हुन् । राजापुर नगरपालिकाका नगर सभापति महेशकुमार चौधरी, गेरुवा गाउँपालिकाका सभापति प्रेम रावल र बढैयाताल गाउँपालिकाका सभापति भगतराम नेपाली राठोरसंग निकट हुन् । 

सात पालिकाका नवनिर्वाचित सभापतिहरू
१.पदमबहादुर खड्का, ठाकुरबाबा नगरपालिका  (संस्थापन इतर)
२. इन्द्र कुमार यादव, गुलरिया नगरपालिका (संस्थापन)
३. सुरेन्द्रबहादुर बोहरा, बारबर्दिया नगरपालिका (संस्थापन इतर)
४. लोहारी थारु, बाँसगढी नगरपालिका (संस्थापन इतर) 
५. महेशकुमार चौधरी, राजापुर नगरपालिका (संस्थापन)
६. प्रेम रावल, गेरुवा गाउँपालिका (निर्विरोध) (संस्थापन)
७. भगतराम नेपाली, बढैयाताल गाउँपालिका (संस्थापन)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ