arrow

हर्षोल्लासका साथ मनाइँदै जितिया पर्व : मंगलवार पर्वको मुख्य दिन

logo
सञ्जीतकुमार मण्डल.
प्रकाशित २०७८ असोज १२ मंगलबार
jitiya-parba.jpg

जलेश्वर । मैथिल र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मंगलवार मुख्य दिन हो । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ । मैथिल र थारु समुदायका महिलाले मङ्गलवार बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी बुधबार साँझ व्रत सम्पन्न गर्नेछन् । 

बर्तालुले मङ्गलवार बिहान चार बजे ओं गठन (दही चिउरा सक्खर सहितको प्रसाद खाएर) खाएर भोलि साँझ पाँच बजेसम्मका लागि उपवास सरु गरेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए । उपवास बसेका दिन महिलाहरूले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । 

एक पटक असफल भएकी व्रती व्रत बस्न पाउँदिनन्
व्रत बस्नु अघिल्लो दिन अर्थात् सोमबार बर्तालुले विभिन्न जलाशयमा स्नान गरी भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ देवतालाई चढाएका थिए । देवतालाई चढाएकै तेल मध्येबाट आ-आफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ को सो दिनलाई नहा खा (नुहाएर खानु) भनिन्छ । 

सो दिनको पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ । त्यसै गरी विधिअनुसार मङ्गलवार एका बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाहरू ओं गठन सम्पन्न गरेको अर्थात् केही खानेकुरा ओठमा लगाएका छन् । प्रायः जसो महिलाले ओं गठनमा दही चिउरा खाने गरेको पाइन्छ । त्यसपछि सुरु हुन्छ कठिन उपवासको क्रम । 

आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष कठिन रहेको पुजारी पाठकले बताए । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्त्वसमेत छ । उनले भने, “यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्त्व पनि उजागर गर्छ ।” पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् ।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरूले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एक पटक असफल भएकी व्रती मंगलवारीवन व्रत बस्न पाउँदिनन् । 

उपवास क्रममा मङ्गलवार दिनभरि, रातभरि र भोलि दिनभरि व्रती महिलाले अन्न जल केही पनि ग्रहण नगरी उपवास बस्ने र भगवान् ‘जिमतुवाहन’ को पूजा अर्चना र कथा वाचन र श्रवण गर्ने काममा व्यस्त रहनेछन् । नवव्रती (पहिलो पटक व्रत बस्ने महिला)लाई भगवान् ‘जिमतुवाहन’ले भोक, तिर्खा लगाउने र शरीरमा विभिन्न कठिनाइ उत्पन्न गराई परीक्षा लिने गरेको जलेश्वर नपा-८ का व्रती ५५ वर्षीया राजवती देवीले बताइन् । तर दृढ सङ्कल्प, विश्वास र भगवानप्रतिको ध्यानमा लागि रहनेलाई केही पनि नहुने र सफलतापूर्वक व्रत समापन हुने विश्वास समेत उनले व्यक्त गरिन् । 

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवाहनलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ । मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन रहेको बताइएको छ । रासस



नयाँ