पुरुषोत्तम महिना शुरू, मत्स्यनारायणमा बिहानैदेखि भक्तजनको घुइँचो
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
557
Shares
काठमाडौँ । आजदेखि पुरुषोत्तम महिना (अधिकमास) शुरू भएसँगै राजधानीको दक्षिण-पश्चिम भेगमा अवस्थित मत्स्यनारायण मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरूको ठूलो घुइँचो लागेको छ।
चन्द्रागिरी नगरपालिका–९ मा रहेको यस ऐतिहासिक मन्दिरमा हरेक तीन वर्षमा पर्ने अधिकमासको अवधिभर अर्थात् एक महिनासम्म परम्परागत मेला लाग्ने गर्दछ, जसलाई 'मत्स्यनारायण मेला' भनिन्छ।
मत्स्यनारायण मेला व्यवस्थापन समितिका संयोजक अच्युत अधिकारीका अनुसार आज पहिलो दिन भएकाले बिहानैदेखि मन्दिर परिसरमा पूजाआजा र दर्शन गर्ने भक्तजनको बाक्लो उपस्थिति रहेको छ।
धार्मिक मान्यता अनुसार मन्दिरसँगै रहेको पवित्र कुण्डमा स्नान गरी कुण्डको मध्यभागमा अवस्थित भगवान् मत्स्यनारायणको श्रद्धापूर्वक दर्शन गरेमा मानव जीवनका सम्पूर्ण पाप नष्ट हुने जनविश्वास रहेको छ।
यसका साथै उक्त कुण्डमा स्नान गर्नाले छालासम्बन्धी विभिन्न समस्या, घाउ र खटिरा जस्ता रोगहरू समेत निको हुने धार्मिक विश्वास रहिआएको छ।