- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग बिक्री व्यवसाय गरेको आरोपमा मुद्दा लागेका नौ जनालाई सार्वजनिक गरेको छ । निकुञ्जले विभिन्न समय र स्थानमा उनीहरुलाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको आइल्याण्ड क्षेत्रमा विसं २०७७ भदौमा गैँडा मारेको अभियोगमा नवलपरासी बुलिङ्टार गाउँपालिका-१ घर भई गैँडाकोट नगरपालिका-१ बस्ने ३२ वर्षीय चतुरे भन्ने गोपाल सारुलाई गत साउन ३२ गते पक्राउ गरेको हो । सोही अभियोगमा धादिङको रोराङ गाउँपालिका-१ बस्ने ३५ वर्षीय कवि भन्ने रामकुमार श्रेष्ठलाई भदौ ६ गते पक्राउ गरिएको थियो ।
निकुञ्जको बहपुर खोला क्षेत्रमा २०७६ कात्तिकमा गैँडा मारेको अभियोगमा मकवानपुरको मनहरी गाउँपालिका-४ बस्ने ३० वर्षीय विजय कान्छ भनिने जयबहादुर प्रजालाई निकुञ्जले भदौ ४ गते पक्राउ गरेको हो । सोही अभियोगमा मकवानपुर मनहरी गाउँपालिका-४ मसिने खोला बस्ने ३६ वर्षीय दिलीप एवं दिलबहादुर प्रजा भन्ने सिंहराम प्रजालाई भदौ ६ गते पक्राउ गरेको छ ।
विसं २०७७ असोजमा निकुञ्जको घाँघर क्षेत्रमा पर्ने बाटुले चौरको खोल्सीमा गैँडा मारेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । सो घटनामा सात जना फरार रहेका छन् । अधिकारीका अनुसार मकवानपुरका सरिखेत गाउँपालिका-९ बस्ने करण मुक्तान भन्ने करण प्रजा, मकवानपुरको मनहरी गाउँपालिका-४ बस्ने मसिने टोङ्ग्रा खोला बस्ने सुरेश प्रजा र मकवानपुर मनहरी गाउँपालिका-४ का २७ वर्षीय बाबु भनिने सरोज मुक्तानलाई भदौ ४ गते पक्राउ गरिएको । निजको स्वास्थ्य अवस्था गम्भीर भएकाले अदालतमा हाजिर हुने गरी छाडिएको छ ।
निकुञ्जको घाँघरपोष्टदेखि १.५ किमीमा पर्ने ढड्डाघारीमा विसं २०७७ जेठमा गैँडा मारेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । उक्त घटनामा पाँच जना फरार रहेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका-७ देवेन्द्रपुर बस्ने यादव भन्ने राजन गुरुङ रहेका छन् ।
यस्तै मकवानपुरका सरिखेत गाउँपालिका-९ बस्ने वृन्दासिंह प्रजालाई पनि निकुञ्जले पक्राउ गरेको छ । यसअघि नै दुई वटा गैँडा मारेको मुद्दामा फरार रहेका निजलाई पक्राउ गरी कारागार चलान गरिएकोमा पुनः अर्को दुई मुद्दामा जोडिएपछि अनुसन्धानका लागि निकुञ्ज लगिएको हो । उनीहरुलाई मंगलवार निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार चार वटा गैँडा मार्न संलग्न १७ जनामध्ये हालसम्म आठ जनालाई पक्राउ गरिएको छ भने नौ जना फरार रहेका छन् । चालु आर्थिक वर्षमा गैँडा मुद्दाका १४ जना पक्राउ परेको उनले जानकारी दिए । उनका अनुसार गैँडा तस्करमा संलग्न हुने प्रायजसो एउटै परिवारका रहने गरेका छन् । एउटै परिवारका सदस्य मिलेर काम गर्दा सूचना बाहिर नजाने र सुरक्षित भइने भएकाले एकै परिवारका सदस्यहरु बढी संलग्न हुने गरेको उनले जानकारी दिए ।
उनले भने, “यहाँ पक्राउ पर्नेमा तीन जना दाजुभाइ, बाबु-छोरा, साला-भेना, मामाको छोरा-फुपूको छोरा छन् ।” नयाँ प्रविधिको प्रयोग गरेर कसरी तस्करलाई समाउन सकिन्छ भन्ने कुरामा सोच्न जरुरी रहेको उनको भनाइ थियो । गैँडा तस्करमा संलग्न भई कारागार जीवन बिताएर फर्किएका नै पुनः यो काममा लागेको पाइन्छ । अघिल्लो आर्थिक वर्षमा २८ जना गैँडा मारी खाग तस्करी गरेको अभियोगमा पक्राउ परेका थिए ।