arrow

खोप लगाउन नागरिकलाई मन्त्री भुसालको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
Pampha-Bhusal.jpeg

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कोभिड-१९ संक्रमणबाट जोगिने मुख्य उपाय खोप भएकाले सबै नागरिकलाई लगाउन आग्रह गरेकी छन् । उनले स्वास्थ्य मापदण्ड र खोपभन्दा अरु उपाय नभएकाले अधिकतमरूपमा मापदण्ड अपनाउन र खोपमा सहभागी हुन आग्रह गरिन् । 

मन्त्री भुसालले भनिन्, “चैतभित्र सबैलाई खोप लगाउने सरकारको लक्ष्य छ । यस अभियानमा सहभागी बनौँ ।” नजिएको चाडपर्वमा सचेत भएर स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै उनले भनिन्, “दसैँ, तिहार एवं छठजस्ता पर्व मनाउँदा ख्याल गर्नुहोला ।”

सामाजिक र सामूहिक एकताले राष्ट्रिय एकता सुदृढ हुने भएकाले चाडपर्वको महत्व रहेको उल्लेख गर्दै मन्त्री भुसालले सांस्कृतिक निरन्तरताका लागि हाम्रा चाडपर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन् । 

कोभिडकै कारण गरिबी झनै बढेको र त्यसको न्यूनीकरणका लागि राज्यका सबै निकायले आ-आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले कोभिडले आक्रान्त अर्थसामाजिक अवस्थालाई सुधार गर्नुपर्नेमा जोड दिइन् । गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई माथि उठाउनकै लागि २० युनिटसम्म विद्युत् खपत गर्ने जनतलाई निःशुल्क विद्युत् उपलब्ध गराइएको जानकारी दिइन् ।

आफूले मन्त्रालय सम्हालेपछि विद्युत् महसुल दरमा कम गरेको उल्लेख गर्दै डलरमा खरिद गरिएको खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको प्रयोगलाई कम गर्दै लैजानुपर्नेमा जोड दिइन् । 

सो अवसरमा वाग्मती प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यय र ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले चाडबाडका समयमा कोभिड-१९ को मापदण्ड पालना गर्न र शान्तिसुरक्षालाई विशेष ध्यान दिन आग्रह गरिन् । 



नयाँ