arrow

कोहलीको बैंगलोर प्लेअफ नजिक, राजस्थानमाथि ७ विकेटको जित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
ipl-bangalore-rajasthan-202.JPG

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी२० क्रिकेटमा विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ । दुबईमा बुधबार राति भएको खेलमा बैंगलोरले राजस्थानलाई ७ विकेटले हराएको हो ।

यो जितसँगै बैंगलोर प्लेअफ नजिक पुगेको छ । खेलमा राजस्थानले दिएको १५० रनको विजयी लक्ष्य बैंगलोरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

बैंगलोरका लागि ग्लेन म्याक्स्वेलले ३० बलमा नटआउट रहँदै ५० रन बनाए । श्रीकर भारतले ३५ बलमा ४४ रन जोड्दा कोहलीले २० बलमा २५ रन बनाए । 

राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

राजस्थानको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेटको नोक्सानीमा १४९ रन बनाएको थियो ।

इभिन लेविसले ३७ बलमा ५८ रन बनाए । याशस्भी जैसवालले २२ बलमा ३१ रन बनाए । बैंगलोरका हर्सल पटेलले ३ विकेट लिए । युजभेन्द्र चाहल र शाहबाज अहमेदले २–२ विकेट लिए ।

अंक तालिका
यो जितसँगै बैंगलोर ११ खेलमा १४ अंकसहित तेस्रो स्थानमा रहेको छ । जितले बैंगलोर प्लेअफ नजिक पुगेको छ । 

शीर्ष स्थानको चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्स १६ अंकसहित प्लेअफमा लगभग सुरक्षित भइसकेका छन् । 

चौथो स्थानको कोलकाता नाइट राइडर्स र पाँचौं स्थानको मुम्बई इन्डियन्सको समान १० अंक छ । 

राजस्थान ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।



नयाँ